Logo

कांग्रेस सांसदको प्रश्न– टिकटकका लागि व्यवस्था नै परिवर्तन गर्ने त ?



काठमाडौं, ३० कात्तिक । नेपाली कांग्रेसका नेता एवं सांसद श्याम घिमिरेले व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन नभएको भन्ने आरोप अस्वीकार गरेका छन् । साथै उनले १०–१० वर्षमै व्यवस्था परिवर्तन मुलुकको हितमा नहुने पनि बताए ।
‘व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन भन्ने कुरा सही होइन । यो संविधान बनेको नौ वर्ष पनि भएको छैन । कतिपय नेपालीको चाहना बच्चाको जस्तो छ । प्रत्येक ६–६ महिनामा व्यवस्था नै चेन्ज गर्न खोज्छन् । मिडियाकर्मीको काम पनि त्यस्तै छ । हरेक ६ महिना, वर्षदिन वा १० वर्षमा व्यवस्था चेन्ज गर्ने हो भने हामी पुग्छौ कहाँ ?’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भने ।
सांसद घिमिरेले फेसबुक लगायत समाजिक सञ्जालमा आएको कुरालाई नै जनताको मतको अभिव्यक्ति मान्न नसकिने बताए । उनले थपे, ‘हामीकहाँ इस्युवाइज जनमतसंग्रह गर्ने चलन छैन । त्यसैले जनमतको अभिव्यक्ति निर्वाचनमार्फत हुने हो । हामी पनि जनताबाटै निर्वाचित भएका हौं । जनताको व्यवस्था बदल्ने चाहना भए हामीलाई किन जिताउँथे र ?’
टिकटक बन्द गर्ने सरकारको निर्णयमा आफू सहमत नभएको पनि घिमिरेले बताए । उनले भने, ‘पक्कै पनि सामाजिक सञ्जालमा विकृति र उच्खृंखलता छन् । तर सामाजिक सञ्जालको व्यवस्थापन, नियमन गर्ने हो नियन्त्रण गर्ने होइन । सरकारले गरेका सबै निर्णय सही हुन्छन् भन्ने छैनन् । म लोकतन्त्रवादी हुँ, म टिकटक प्रतिबन्धमा सहमत छैन । तर टिकटकका लागि व्यवस्था नै परिवर्तन गर्ने त ? लोकतन्त्रमा जस्तो स्वतन्त्रता अन्यत्र पाइन्छ ? नेपाली जनताको चाहना निरंकुशतन्त्र हुनै सक्दैन ।’
अहिल कांग्रेसले वर्तमान सरकारको विकल्प नखोजेको पनि उनल बताए । उनले भने, ‘कांग्रेसले वर्तमान सरकारको विकल्प खोज्दैन । पाँच वर्ष सरकार चलाउने हामीले जनतासामु जाहेर गरेको साझा प्रतिबद्धता हो । अहिले त्यो फिर्ता लिन मिल्दैन । राजनीतिक अस्थिरता हाम्रो चाहना होइन ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot