दुर्गा प्रसाईँको ७ गतेको आन्दोलनमा शाही युवा शक्ति नेपालको समर्थन,स्वतस्फूर्त सहभागी हुन आह्वान (भिडिओसहित)


काठमाडौं, ४ मंसिर । शाही युवा शक्ति नेपालले आगामी मंसिर ७ गते दुर्गा प्रसाईँले आयोजना गरेको प्रदर्शनमा सहभागिता जनाउने भएको छ । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै शाही युवा शक्ति नेपालले प्रसाईँको उक्त अभियानमा समर्थन रहेको बताएको हो ।

प्रसाईँको आन्दोलन भुईँमान्छेको आन्दोलन भएको शाही युवा शक्ति नेपालको दाबी छ । आगामी मंसिर ७ गते बिहान ११ बजे गोङ्गबुदेखि माईतीघरसम्म हुने विशाल प्रदर्शनमा स्वतस्फूर्तरुपमा सहभागी हुन आह्वानसमेत गरेको छ ।

शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले आगामी मंसिर ७ गतेको आन्दोलन सफल पार्नका लागि सबैलाई आग्रह गरे । शाही युवा शक्ति नेपालले तीन सय जना कमाण्डो तयार गरेको उनको दाबी छ । आफूहरुले तयार गरेका कमाण्डो फोर्सले उक्त कार्यक्रमको दिन दुर्गा प्रसाईँलाई सुरक्षा दिने उनले बताए । मंसिर ७ गते गणतन्त्र पत्तासाफ हुने उनको दाबी छ ।

कार्यक्रममा शाही युवा शक्ति नेपालका केन्द्रीय उपाध्यक्ष प्रेम बैदार, नेपालका लागि नेपाली अभियानका महामन्त्री दीपक आत्रे, वरिष्ठ अधिवक्ता विष्णु भट्टराई, दुर्गा प्रसाईँले सञ्चालन गरेको नागरिक बचाउ अभियानका काठमाडौं जिल्ला संयोजक राजकुमार भट्टराई, सन्तोष राजवादीलगायतको उपस्थिति रहेको थियो । उनीहरुले नेपाल र नेपालीका लागि राजतन्त्रभन्दा राम्रो व्यवस्था अरु केही हुन नसक्ने बताए ।

Skip This