Logo

कांग्रेस प्रचण्ड सरकारमा टाँसिइरहनुको औचित्य छैन : नेता खड्का



काठमाडौं, ५ मंसिर । नेपाली कांग्रेसका नेता भरतबहादुर खड्काले आफ्नो पार्टी सरकारमा छ भन्ने अनुभूति गर्न नपाएको टिप्पणी गरेका छन् ।
‘वर्तमान सरकारमा नेपाली कांग्रेस पनि सहभागी छ । तर पार्टी सरकारमा सहभागी भएको अनुभूति आम जनताले गरेका छैनन् । जनतामा न्याय, सुशासन र समृद्धिको महसुस हुन सकेको छैन । सरकार प्रभावकारी ढंगले चलेको छैन । सरका किंकर्तव्यविमूढ छ, यसको समीक्षा गर्नु जरुरी छ । यही तरिकाले जाने हो भने कांग्रेसलाई ठूलो क्षति हुन्छ,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भने ।
नेता खड्काले पार्टी सरकारमा बसिरहनुको औचित्य नरहेको पनि औंल्याए । उनले भने, ‘बिग्रेको कुरा जति कांग्रेसको टाउकोमा थोपर्ने, जस चाहिं प्रचण्डले मात्र लिने हो भने सरकारमा बस्नुको औचित्य छैन । यसको अर्थ गठबन्धन तोड्नैपर्छ, दूरी बढाउनै पर्छ भन्ने पनि होइन । प्रतिपक्षमा बसेर पनि रचनात्मक भूमिका निर्वाह गर्न सकिन्छ । सरकार प्राविधिक कुरा हो । प्रमुख कुरा मुलुकमा सरकार भएको अनुभूति जनताले गरे कि गरेनन् भन्ने हो ।’
संघ, प्रदेश र स्थानीय सरकारमा कांग्रेसकै बाहुल्यता भए पनि कामयावी हुन नसकेको खड्काले बताए । उनले भने, ‘एउटा व्यक्ति दुर्गा प्रसाईले कसरी यति धेरै मान्छे जम्मा गर्दैछ ? राज्यबाट जनता किन टाढा हँुदैछन् ? वास्तविक सरकार खोइ ?अब हामीले यस्तो अवस्था किन आयो भनेर समीक्षा गर्नुपर्छ । संघ, प्रदेश र स्थानीय सरकारमा कांग्रेसकै बाहुल्यता छ । सरकारप्रति जनताको भरोसा किन छैन ? यसरी कांग्रेस सरकारमा टाँसिरहनु हुँदैन । किन सरकारमा बसिरहने ?’
दुर्गा प्रसाईलाई खुलामञ्चमा काम गर्न दिए पनि फरक नपर्ने खड्काले बताए । उनले भने, ‘दुर्गा प्रसाईको एजेन्डा छैन । गन्तव्य छैन । कहिले गणतन्त्रवादी भन्नुहुन्छ, कहिले राजावादी हुँ भन्नुहुन्छ । उहाँलाई सरकारले कार्यक्रम गर्न दिनुपर्छ । हामी वाक् स्वतन्त्रताका लागि लडेका हौं । कफ्र्यु नलगाईकन खुलामञ्चमा कार्यक्रम गर्न दिए हुन्छ । उहाँले पनि जिम्मेवार नागरिकका रुपमा शान्तिपूर्ण रुपमा कार्यक्रम गर्नुपर्छ ।’ तर राजा फर्कने सम्भावना नरहेको उनले औंल्याए । १७ वर्षसम्म शान्तिप्रक्रियालाई अन्तिम निष्कर्षमा नपुर् याउनु बेइमानी भएको पनि उनको आरोप छ ।



प्रतिक्रिया दिनुहोस्