तत्कालीन समयमा पूर्वी नेपालका नागरिकलाई आँखामा समस्या देखिए उपचारका लागि काठमाडौँ अथवा भारतका विभिन्न सहर पुग्नुपर्ने बाध्यता थियो। उपचारका लागि लाग्ने खर्च, लामो यात्रा र काम छाडेर अस्पताल बस्नुपर्ने कठिनाइले आर्थिक अवस्था कमजोर भएका परिवारलाई थप पीडा दिन्थ्यो। समयमै उपचार नपाउँदा सामान्य समस्या पनि जटिल बन्ने र दृष्टि गुमाउनुपर्ने जोखिम उत्तिकै थियो।
यस अवस्थाको अन्त्य गर्दै पायक पर्ने स्थानमा आँखा उपचार सेवा दिने उद्देश्यले सिरहाको लहानमा सुरु गरिएको आँखा उपचार केन्द्र बिरामीका लागि ठुलो भरोसाको केन्द्र बनेको छ। आँखा उपचार सेवा लिन अन्यत्र जानुपर्ने बाध्यता हटेको छ भने भारतबाट सेवा लिन आउने बिरामीको चाप दिनप्रतिदिन बढेको छ। सुरुमा १२ शय्याबाट सेवा थालेको यो केन्द्र पछि सगरमाथा चौधरी आँखा अस्पतालका रूपमा विकास भयो र यसको सेवा विराटनगरसम्म विस्तार भयो।
नेपालमा आँखा उपचार सेवालाई व्यवस्थित र सर्वसुलभ बनाउन नेपाल नेत्रज्योति सङ्घको स्थापना सन् १९७८ मा भएको थियो। सन् १९८२ मा क्रिस्टोफेल ब्लाइन्डेनमिसन र नेपाल नेत्रज्योति सङ्घबीच सहकार्य सुरु भयो। सन् १९८३ मा चिकित्सक ए. हेनिङ्गको पहलमा लहानस्थित रामकुमार शारदा उमाप्रसाद मुरारका सार्वजनिक जिल्ला अस्पतालमा १२ शय्याको आँखा उपचार केन्द्र सञ्चालनमा ल्याइयो। डा. हेनिङ्गले लहानमा ३० वर्षसम्म सेवा गरेर आँखा उपचारको विकासमा महत्त्वपूर्ण योगदान दिए।
बिरामीको बढ्दो चाप र विशेषज्ञ सेवाको मागअनुसार व्यवस्थित अस्पताल निर्माण गर्न जग्गा आवश्यक पर्यो। स्थानीय समाजसेवीहरू छविलाल चौधरी, सरोवरलाल चौधरी र रवीन्द्रलाल चौधरीले निःशुल्क जग्गा उपलब्ध गराए। सिबिएमको आर्थिक तथा प्राविधिक सहयोगमा ५० शय्याको सगरमाथा चौधरी आँखा अस्पताल तयार भयो। सन् १९८६ मा राजा वीरेन्द्र शाहबाट उक्त अस्पताल भवनको शुभारम्भ गरियो।
बिरामीको चाप बढेपछि विशेषज्ञ जनशक्ति व्यवस्थापन गर्न विराटनगरमा शाखा विस्तार गर्ने निर्णय भयो। यसै क्रममा सन् २००६ सेप्टेम्बर १३ मा विराटनगर आँखा अस्पताल स्थापना भयो। ८० शय्याबाट सुरु भएको यो अस्पताल सन् २००९ सम्म आइपुग्दा ३०० शय्याको क्षमतामा विस्तार भयो। सन् २०११ नोभेम्बर १५ मा राष्ट्रपति डा. रामवरण यादवबाट नयाँ भवनको शुभारम्भ गरियो।
यी अस्पतालहरूले लहान र विराटनगरमा मात्र सीमित नरही समुदायस्तरमा निःशुल्क आँखा परीक्षण, शिविर, विद्यालयमा दृष्टि परीक्षण र घरदैलो कार्यक्रम सञ्चालन गरे। सन् २०२५ को तथ्याङ्कअनुसार यस प्रणालीमार्फत १४ लाख ३१ हजार २८८ जनालाई ओपिडी सेवा, एक लाख ३२ हजार २१३ वटा शल्यक्रिया र एक लाख ३३ हजार ३१६ जनालाई चस्मा प्रदान गरिएको छ। स्थापना कालदेखि सन् २०२५ सम्ममा एक करोड ६६ लाख ३१ हजार ९५० जनालाई आँखा परीक्षण सेवा र २४ लाख ९९ हजार ८९३ वटा शल्यक्रिया गरिएको छ।
आँखा उपचार सेवाको विस्तारले बिरामीको दृष्टि जोगाउनुका साथै स्थानीय क्षेत्रमा आर्थिक तथा व्यावसायिक गतिविधि पनि बढाएको छ। होटल, भोजनालय, यातायात र औषधि पसलजस्ता स्थानीय व्यवसायले ठुलो अवसर पाएका छन्। लहान र विराटनगरको यो विकासक्रमले स्वास्थ्य संस्थाको विकासले स्थानीय क्षेत्रको आर्थिक विकासमा पार्ने सकारात्मक प्रभावलाई प्रस्ट पारेको छ।




प्रतिक्रिया