Logo

गोविन्द केसीले अनशन बस्छु भन्दैमा चिकित्सा शिक्षा ऐन संशोधन रोकिँदैनः स्वास्थ्यमन्त्री बस्नेत



काठमाडौं, २५ मङ्सिर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कसैले धम्क्याउँदैमा चिकित्सा शिक्षा ऐन संशोधनको प्रक्रियाबाट सरकार पछि नहट्ने बताएका छन् ।

आज भरतपुरमा पत्रकारसँग कुराकानी गर्दै उनले ऐन संशोधनका विषयमा मन्त्रिपरिषद्मा छलफल भइरहेको बताएका हुन् । मन्त्री बस्नेतलेअभियन्ता डा. गोविन्द केसीप्रति लक्षित गर्दै कोही ‘सुत्छु’ भन्दै धम्क्याउँदैमा सरकार ऐन संशोधनबाट पछि नहट्ने बताए ।

उनले भने, “कुनै एक व्यक्तिले अनशन बस्छु भन्दैमा देशको हितका लागि हुने काममा राज्यले खुट्टा कमाउनु हुँदैन र कमाउँदैन पनि । त्यहाँ भएका राम्रा कुराको कार्यान्वयन र नराम्रा कुराको सुधार एवं संशोधन गरेर अघि बढ्छौँ ।” यो ऐनलाई संशोधन गरेर गुणस्तरीय शिक्षा र शुल्क निर्धारण गर्ने कुरा कार्यविधि बनाएर सरकारले अनुगमन गर्ने मन्त्री बस्नेतले बताए । अहिलेको शिक्षा नीति केही खुकुलो हुनुपर्ने उहाँको भनाइ थियो ।

सरकारले अहिले एक सयदेखि तीन सय श्यया भएका अस्पताललाई नर्सिङ र प्यारामेडिक्स पढाउन दिने तथा तीन सय श्ययाभन्दा बढी भएका अस्पताललाई एमबिबिएस पढाउन दिने गरी खुकुलो पार्न लागेको मन्त्री बस्नेतले बताए । सुधार गर्नुपर्ने ठाउँमा सुधार गरेर स्वास्थ्य शिक्षा सञ्चालन गरिने उनको भनाइ थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot