‘प्रतिपक्षको आवाज दबाएर होइन, जनताको विश्वास जितेर सरकार बलियो हुन्छ’ : निर्मला क्षेत्री


गगन थापाको नेतृत्वमा कांग्रेसको खबरदारीलाई समर्थन गर्दै क्षेत्रीको सरकारलाई सुझाव- राज्यशक्ति प्रतिशोधका लागि होइन, न्याय र सुशासनका लागि प्रयोग होस्


काठमाडौँ । सत्ता जनमतबाट प्राप्त हुन्छ, तर त्यसको औचित्य जनताप्रतिको जवाफदेहिताबाट स्थापित हुन्छ। यही लोकतान्त्रिक मान्यताको स्मरण गराउँदै नेपाली कांग्रेसकी नेतृ तथा लुम्बिनी प्रदेशकी पूर्व सचेतक निर्मला क्षेत्रीले वर्तमान सरकारलाई आफ्नो कार्यशैली सच्याउन र विधिको शासनप्रति प्रतिबद्ध हुन सुझाव दिएकी छन्।

इनम सापकोटा प्रकरणलाई लिएर उनले उठाएका प्रश्न केवल एउटा घटनामा सीमित छैनन्। ती प्रश्नले राज्यशक्तिको प्रयोग, अनुसन्धानको निष्पक्षता, राजनीतिक प्रतिशोधको आशंका र सरकारको जवाफदेहितामाथि गम्भीर बहस सिर्जना गरेका छन्।

क्षेत्रीले प्रहरी हिरासतमा रहेका अभियुक्तको मोबाइल फोन फरेन्सिक परीक्षण हुनुअघि प्रधानमन्त्रीका प्रमुख सल्लाहकारले दुई दिनसम्म आफ्नै घरमा राखेको भन्ने विवरण सार्वजनिक हुनु गम्भीर विषय भएको बताइन्। उक्त विवरणबारे सरकारले मौनता साँध्नुभन्दा तथ्य सार्वजनिक गरी निष्पक्ष छानबिन सुनिश्चित गर्नुपर्ने उनको धारणा छ।
उनले भनिन्, “इनम सापकोटा प्रकरणले सत्ताको दुरुपयोग कसरी भइरहेको छ भन्ने कुरा घामजस्तै छर्लङ्ग पारेको छ।

देशमा प्रधानमन्त्री बालेन शाह छन् कि को छन् भन्ने कुरा आम नागरिकले समेत भेउ पाउन छाडेका छन्। सुशासन होइन, छाडातन्त्र हावी हुँदै गएको देखिन्छ।”

नेपाली कांग्रेस लुम्बिनी प्रदेशकी पूर्व सचेतकसमेत रहेकी क्षेत्रीले लोकतन्त्रमा प्रतिपक्षको भूमिका स्पष्ट रहेको बताइन्। सरकारका राम्रा काममा समर्थन गर्नु र गलत निर्णय, कमजोरी तथा स्वेच्छाचारी कार्यशैलीमाथि प्रश्न उठाउनु प्रतिपक्षको संवैधानिक तथा राजनीतिक जिम्मेवारी भएको उनको भनाइ छ।
“करिब दुईतिहाइ जनमतसहित बनेको सरकारले जनताप्रति अझ बढी जिम्मेवार र जवाफदेही हुनुपर्छ। प्रतिपक्षलाई कमजोर बनाएर सरकार बलियो हुँदैन। कांग्रेस सभापति गगनकुमार थापामाथि आरोप लगाउने, पक्राउको वातावरण सिर्जना गर्ने वा राजनीतिक रूपमा बदनाम गर्ने प्रयासभन्दा उठेका प्रश्नको तथ्यपूर्ण जवाफ दिनु सरकारको दायित्व हो,” उनले स्पष्ट पारिन्।

क्षेत्रीले सभापति गगनकुमार थापाको नेतृत्वमा नेपाली कांग्रेसले लोकतन्त्र, नागरिक अधिकार, प्रेस स्वतन्त्रता र विधिको शासनका पक्षमा उठाइरहेको आवाजलाई समयसापेक्ष प्रतिपक्षी खबरदारीका रूपमा व्याख्या गरिन्। उनका अनुसार सरकारका गलत काममाथि प्रश्न उठाउनु सरकारविरोधी गतिविधि होइन, लोकतान्त्रिक व्यवस्थालाई सही बाटोमा राख्ने आवश्यक अभ्यास हो।

क्षेत्रीको भनाइमा बलियो सरकार हुनु लोकतन्त्रका लागि सकारात्मक हुन सक्छ, तर बलियो सरकारको अर्थ प्रश्नरहित सत्ता होइन। जनताको मतबाट प्राप्त शक्तिलाई आलोचना सुन्ने, कमजोरी सच्याउने र राज्यका संस्थालाई निष्पक्ष बनाउने अवसरका रूपमा लिनुपर्छ।


उनले सरकारलाई प्रतिशोधको राजनीति त्यागेर निष्पक्ष अनुसन्धान, पारदर्शिता र सुशासनमा केन्द्रित हुन आग्रह गरिन्। कुनै पनि व्यक्तिमाथि आरोप लागे कानुनी प्रक्रियाबाट सत्यतथ्य स्थापित हुनुपर्ने भन्दै उनले अनुसन्धानलाई राजनीतिक प्रभाव र दबाबबाट मुक्त राख्नुपर्नेमा जोड दिइन्।

“राज्यशक्ति कसैलाई तर्साउन, बदनाम गर्न वा राजनीतिक हिसाब मिलाउन प्रयोग हुनुहुँदैन। सरकारको सफलता प्रतिपक्ष कति कमजोर भयो भन्ने कुराले होइन, नागरिकले कति न्याय, सुरक्षा र सुशासनको अनुभूति गरे भन्ने कुराले मापन हुन्छ,” उनको जोड थियो।

लेखिका समेत रहेकी क्षेत्रीले लोकतन्त्रमा असहमति, आलोचना र प्रश्नलाई स्वाभाविक रूपमा लिनुपर्ने बताउँदै सत्तामा रहनेहरूले आलोचनालाई शत्रुता ठान्न नहुने धारणा राखिन्। उनका अनुसार भय, त्रास र दबाबबाट केही समय राजनीतिक वातावरण नियन्त्रणमा राख्न सकिए पनि त्यसले जनविश्वास निर्माण गर्न सक्दैन।
उनले भनिन्, “भय, त्रास र आतंक सिर्जना गरेर शासन चलाउन सकिएला, तर जनताको विश्वास जित्न सकिँदैन। लोकतन्त्रमा सत्ता स्थायी हुँदैन, विधिको शासन स्थायी हुन्छ।”

क्षेत्रीको अभिव्यक्तिले कांग्रेसको प्रतिपक्षी भूमिकालाई केवल राजनीतिक विरोधमा सीमित नराखी लोकतान्त्रिक मूल्य, विधिको शासन र नागरिक अधिकारको रक्षासँग जोडेको देखिन्छ। सरकारका लागि पनि यो आरोप-प्रत्यारोपमा अल्झिनेभन्दा तथ्य सार्वजनिक गर्ने, निष्पक्ष छानबिन गर्ने र जनताको विश्वास जित्ने अवसर हो।


लोकतन्त्रमा सरकारको शक्ति बहुमतले दिन्छ, तर त्यसको मर्यादा जवाफदेहिताले कायम राख्छ।