Logo

पुष १० गते अगावै प्रधानमन्त्री प्रचण्डसँग सम्बन्ध सुधारको प्रयासमा ओली, देउवा तीन छक्क !



काठमाडौं, २७ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएको आगामी पुष १० गते एक वर्ष पुग्दैछ । प्रधानमन्त्री प्रचण्डले आफूले सरकारको नेतृत्व गरेको एक वर्ष पुग्न लागेको अवसरमा मन्त्रिपरिषद् हेरफेरको तयारी गरेको समाचार पनि बाहिरिएका छन् । तर, प्रधानमन्त्री दाहालले भने आफूले अहिले त्यस्तो कुनै तयारी नगरेको र सम्भावना पनि नभएको स्पष्ट पारेका छन् ।

दुवईमा आयोजित कोप–२८ मा सहभागी भएर स्वदेश फर्कने क्रममा प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्रिपरिषद् हेरफेरको तयारी नभएको र बाहिर आएका समाचार हल्लामात्रै भएको दाबी गरेका थिए । कतिपयले भने प्रधानमन्त्री दाहालले कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग पूनः सहकार्य गर्नेगरि तयारी थालेको पनि भनेर चर्चा गर्न थालेका छन् । यो बीचमा प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सम्बन्ध सुमधुर भएको जानकारहरु बताउँछन् ।

सार्वजनिक रुपमा सरकारको आलोचना गरिरहेका एमाले अध्यक्ष ओली भित्री रुपमा भने माओवादीसँग सहकार्य गर्न चाहन्छन् । हिजो (मंगलबार) प्रधानमन्त्री दाहालको जन्मदिन । ओली पार्टीको ‘समृद्धिको लागि संकल्प यात्रा’ भन्ने राजनीतिक अभियानमा छन् । अभियानको क्रममा उनी हिजो उदयपुर, ओखलढुंगा हुँदै खोटाङ पुगेका थिए । खोटाङको दिक्तेलबाट उनले प्रधानमन्त्री प्रचण्डलाई फोनमार्फत जन्मदिनको शुभकामना दिएको सार्वजनिक गरेका छन् ।

ओलीले दाहाललाई फोनमार्फत दिएको जन्मदिन विशेष शुभकामनाबारे सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । यसले पनि उनीहरुबीच सम्बन्ध सुमधुर भएको जनाउँछ । हुन त ओलीले यसअघि कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरा पुग्दापनि देउवासँग फोनमा गरेको सम्वादको भिडिओ अंश सार्वजनिक गरेका थिए । पछिल्लो समय एमाले र माओवादी केन्द्र दुवैतर्फ एमाले–माओवादी मिलेर अघि बढ्नुपर्ने आवाज उठ्न थालेको छ । ओलीले यो बीचमा प्रधानमन्त्री दाहालसँग सिंहदरबारमा दुई पटक गम्भीर वार्तासमेत गरेका छन् । उनीहरुबीच शान्ति प्रक्रियालाई निश्कर्षमा पुर्याउनेबारे छलफल भएको बताईएपनि सत्ता–सहकार्यको सम्भावनाबारे पनि विमर्श भएको बताईन्छ ।

कांग्रेसको शेखर कोइराला समूहले आफ्नै नेतृत्वमा सरकार बनाउनुपर्ने र प्रचण्डलाइ सत्ताबाट विस्थापित गर्नुपर्ने अडान लिएको छ । शेखर कोइराला समूहका प्रभावशाली नेता गगन थापाले समेत अब सरकारको विकल्प खोज्ने बेला आएको बताउने गरेका छन् । कांग्रेसमा संस्थापन पक्ष (देउवा समूह) ले मात्रै प्रचण्ड नेतृत्वको सरकारलाई अहिले विस्थापित गर्न नहुने अडान लिएको छ । यो बीचमा कोशी प्रदेश सरकार गठनमा एमाले र शेखर कोइराला समूहको नाटकीय मिलनले पनि केन्द्रको सरकारपनि हलचल हुने अनुमान भएको थियो ।

तर, शेखर कोइराला समूहमा नै विभाजन भएपछि त्यो प्रयास असफल भएको छ । अहिले ओली प्रचण्डसँग सम्बन्ध सुधारेर अघि बढ्न चाहेका छन् । ओलीले कांग्रेससँगको गठबन्धन तोडेर आए प्रचण्डलाई अहिलेको एक वर्षसहित तीन वर्ष नै प्रधानमन्त्री बनाउन सकिने प्रस्ताव गरेको छ । बाँकी दुई वर्ष ओलीले सरकारको नेतृत्व गर्ने समझदारी बनेको चर्चा छ । ओलीले रास्वपालेपनि कांग्रेससँगको गठबन्धन तोडे माओवादीलाई साथ दिनसक्ने वचन दिएको चर्चा छ । यसअघि रास्वपाका सभापति रवि लामिछानेले आफ्नो दलको संसदीय दल र केन्द्रीय कमिटीको संयुक्त बैठकको लागि मधेश झर्नुअघि प्रधानमन्त्री दाहालसँग छलफल गरेका थिए ।

सो छलफल रास्वपाको सत्तारोहणबारे केन्द्रित थियो । प्रधानमन्त्री दाहालले रविलाई सरकारमा सहभागी हुन आग्रह गरेका थिए । रविले पनि यसबारे सोच्न सकिने र उपप्रधानसहित गृहमन्त्रालयको नेतृत्व मागेका थिए । लामिछोनेको उक्त प्रस्तावमा प्रधानमन्त्री दाहाल सकारात्मक थिए । तर, रविले कांग्रेससहितको गठबन्धन नभएर एमालेसहितको गठबन्धन भएमात्रै आफूहरु सरकारमा आउनसक्ने वचन दिएको स्रोतको दाबी छ ।

अहिले माओवादीभित्र एमालेसँग मिल्नुपर्ने स्वर ठूलो छ । एमाले नेताहरुलाई अहिलेको उनीहरुको समृद्धिको लागि संकल्प यात्रामा ठाउँ ठाउँमा माओवादी केन्द्रका प्रभावशाली नेताहरुले नै स्वागत गरेका तस्विर सार्वजनिक भैरहेका छन् । रुकुम पश्चिममा ओलीलाई जनार्दन शर्माले भव्य स्वागत गरेका थिए । यस्तै, बाग्मती प्रदेशका अध्यक्ष सरल सहयात्रीले सिन्धुपाल्चोकमा ओलीलाई पुष्पगुच्छासहित स्वागत गरेका थिए ।

अहिले जनार्दन शर्मा र वर्षमान पुन दुवै जना एमालेसँग सहकार्यको पक्षमा उभिएका छन् । उनीहरुले यसको लागि एमाले नेतृत्वसँग लविङसमेत गरेको चर्चा छ । पार्टीको उक्त यात्रा पुष ३ गते सकिएपछि एमाले अध्यक्ष ओली काठमाडौं फर्किने कार्यतालिका छ । काठमाडौं फर्किएलगत्तै उनले माओवादी नेतृत्वसँग सत्ता–सहकार्यबारे छलफल गर्ने बुझिएको छ । ओली प्रचण्डले सरकारको नेतृत्वको गरेको एक वर्ष पुग्नुअघि नै सत्ता–सहकार्यबारे नयाँ सहमति गर्नेगरि अघि बढेको चर्चा छ।

तर, यो बीचमा एमाले–माओवादीबीच सहकार्य हुनसक्ने सूचना पाएपछि भने कांग्रेस सभापति शेरबहादुर देउवा तीन छक्क परेका छन् । आफ्नै पार्टीका नेताहरुले प्रधानमन्त्री दाहाललाई विस्थापित गर्ने भन्दै अभिव्यक्ति दिएको कारण यस्तो परिस्थिति सिर्जना हुन लागेको देउवाको ठम्याई छ । अहिले उनी जसरी पनि दाहाललाई एमालेसँग सहकार्य गर्न नदिनेगरि सक्रिय भएका छन् । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot