Logo

सरकारले जालसाजी गरेर एनसेललाई कौडिको भाउमा बेचेको ओलीको आरोप



काठमाडौं,२९ मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एनसेल बिक्री प्रकरणमा सरकारको संलग्नता रहेको आरोप लगाएका छन् ।

‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ १५औँ दिन तेह्रथुम को वसन्तपुरमा आयोजित जनसभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले सो आरोप लगाएका हुन् । ओलीले सरकारले जालसाजी गरेर तीन वर्षपछि सरकारको स्वामित्वमा आउने एनसेल कौडिको भाउमा अर्को कम्पनीमा नामसारी गर्न लगाएको खाबी गरेका छन् ।

अध्यक्ष ओलीको नेतृत्वमा अधिकांश शीर्ष नेताहरू सम्मिलित टोली भोजपुरबाट हिडेर धनकुटा हुँदै तेह्रथुमको बसन्तपुर पुगेको हो । बसन्तपुरमा आयोजित विशाल जनसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्दै नेपालीको एउटै समस्या गरिबी र अभाव भएको बताए । देशमा एमाले रहेकाले जनता निराश हुन नहुने बताउँदै अध्यक्ष ओलीले भने‘ अहिले देशलाई विकास र सुशासन दिने सरकार चाहिएको छ । एमालेले सरकारको नेतृत्व गरेपछि विकासका काम अगाडि बढाउने विश्वास दिलाउँछ’ ।

अध्यक्ष ओलीले हाम्रो देशको विकास आफैनै गर्न सक्ने दाबी गरेका छन् । एमाले शान्तिपूर्ण ढङ्गले देश विकासमा दृढसङ्कल्पित रहेको ओलीको भनाइ छ । अध्यक्ष ओलीले शान्ति विना देशको विकास नहुने विचार व्यक्त गर्दै सबैलाई शान्तिपूर्ण ढङ्गले आफ्ना विचार राख्न आग्रह गरे । ‘गलत बाटो लिएर सही ठाउँमा कोही पनि पुग्दैन, पुगेको छैन ।
अहिले देशमा वितण्डा मच्चाउन अनेक खालका काम भएको र त्यसमा सरकारमा रहेका मानिसहरूको संलग्नता रहेको छ’ ओलीले भने

सङ्घीय लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गरेर मुलुकलाई सुशासन र विकासको बाटोमा अगाडि बढाउनुपर्नेमा जोड दिदै अध्यक्ष ओलीले त्यसका लागि कृषिमा व्यवसायीकरण र वैज्ञानिकीकरण गर्न आवश्यक रहेको बताए । देशभरि कुन ठाउँमा कस्तो विशेषता छ त्यही अनुसारको आधुनिक कृषि प्रणाली विकास गर्नुपर्ने उनको भनाइ छ ।

‘माटो अनुसारको खेतीपाती गर्नुपर्छ, अब ससानो होइन ठूलो मात्रामा उत्पादन गर्नुपर्छ । नेपाली जनतामा देशको स्वाधीनता, स्वाभिमान, भौगोलिक अखण्डतालाई तलमाथि पर्न नदिने सङ्कल्प रहेको एमालेको रहेको छ’ उनले भने ।

विश्वका ठूला ठूला देश उपनिवेश हुँदा पनि नेपाल कहिल्यै उपनिवेश नभएको गौरवपूर्ण इतिहास रहेको उनले स्मरण गरे। ओलीले अहिले सरकारमा रहेकाहरू सुन तस्करी गरेर बसेको आरोपसमेत लगाएका छ्न ।

एमालेले आफ्नालागि नभएर देश र जनताको लागि काम गरिरहेको बताउँदै देशमा अब परिवर्तन आवश्यक भएकाले पार्टीले मिसन– २०८४ लाई ध्यानमा राखेर काम अगाडि बढाइरहेको उनले स्पष्ट गरे । अध्यक्ष ओलीले भने– झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा अभियान मिसन २०८४ कै एउटा अङ्ग हो । राष्ट्रिय शक्तिका रूपमा रहेको एमाले अझ सुदृढ बन्नुपर्ने र २०८४ को संसदीय निर्वाचनबाट एकल बहुमतको सरकार बनाउनुपर्ने आवश्यकता रहेको छ’ ।



प्रतिक्रिया दिनुहोस्