Logo

काठमाडौं–ल्हासा–काठमाडौं उडान सेवा सुरु



काठमाडौं, पुस १२ । हिमालय एअरलाइन्सले विहिबारदेखि काठमाडौं–ल्हासा–काठमाडौं उडान सेवा सुरु गरेको छ । यो सेवा बिस्तारलाई एअरलाइन्सले नेपाल र चीनबीचको कनेक्टिभिटी बढाउने र द्विपक्षीय सम्बन्धलाई प्रवद्र्घन गर्ने प्रतिबद्धताका रुपमा लिएको जनाएको छ ।

चीनको तिब्बत स्वायत्त क्षेत्रको राजधानी सहर, ल्हासा उच्च हिमालय क्षेत्रमा रहेको सांस्कृतिक र आध्यात्मिक केन्द्र हो । मनमोहक परिदृश्य र प्राचीन गुम्बाहरूका लागि परिचित ल्हासाले तिब्बती बौद्ध धर्म र तिब्बती संस्कृतिको केन्द्रको रूपमा गहिरो महत्व राख्दछ । यस सहरको समृद्ध इतिहास र परम्पराहरूको अद्वितीय मिश्रणले यसलाई तिब्बतको आध्यात्मिक सम्पदा र प्राकृतिक सौन्दर्यको झलक हेर्न खोज्ने यात्रुहरूका लागि मनमोहक गन्तव्यको रूपमा प्रस्तुत गरेको छ ।

नयाँ काठमाडौं–ल्हासा–काठमाडौं रुटले यात्रुहरूलाई नेपालको जीवन्त राजधानी सहर काठमाडौं र ऐतिहासिक रूपले समृद्ध एवम् रमणीय सहर ल्हासाका बीचमा सहज यात्राको विकल्प प्रदान गर्ने कम्पनीले जनाएको छ ।

पहिलो आउटबाउन्ड उडान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज बिहान ८ः४० बजे प्रस्थान गरेको छ । उक्त जहाज ल्हासा गोङ्गार विमानस्थलमा स्थानीय समय अनुसार बिहानकोे १२ बजे अवतरण गर्ने छ । यस उडानको अवधि १ घण्टा २० मिनेटको रहनेछ । पहिलो उडानमा १३६ यात्रु त्यसतर्फ उडेका छन् ।

नेपाल र चीनबीच हिमालय एअरलाइन्स्को यो पाँचौँ सिधा उडान सेवा हो। एअरलाइन्स्ले यस अघि नै बेइजिङ, चोङकिङ, छिन्ताओ र सांघाईमा नियमित रूपमा उडान सेवा सञ्चालन गर्दै आएको छ ।संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले उक्त उडान सेवाको उद्घाटन गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot