Logo

नैतिकताको ‘न’ पनि नभएका मन्त्री ज्वाला, सर्वत्र आलोचना, छैन राजीनामा आउने छाँट



  • मोहन बुढाक्षेत्री

काठमाडौं, १६ पुस । गत शुक्रबार ललितपुरको बालकुमारीमा दुई जना युवाको ज्यान जानेगरी भएको घटनालाई लिएर भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला विवादमा तानिएका छन् । आज (सोमबार) बसेको राज्य व्यवस्था तथा सुशासन समितिका बैठकमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वाला त्यहाँ पुगेपछि घटनाले नयाँ मोड लिएको जवाफ दिएका छन् ।

मन्त्री ज्वाला पुग्नुभन्दा अगाडि प्रहरीले स्थिति नियन्त्रणमा लिन लाठी चार्ज, अश्रु ग्यासलगायत संयन्त्रमात्रै प्रयोग गरेको गृहमन्त्री श्रेष्ठको दाबी छ । मन्त्री ज्वाला त्यहाँ पुगेपछि घटनाले नयाँ मोड लिँदा गोली चलेको उनको स्पष्टोक्ति छ । साथै, प्रदर्शनकारीहरुले अवरोध गरेपछि मन्त्री ज्वाला उनीहरुसँग सवाल जवाफमा समेत लागेको मन्त्री श्रेष्ठको आरोप छ ।

‘मन्त्रीज्यू पार्टीको कार्यक्रममा निस्कनुभएको रहेछ। त्यही बाटो भएर आउनुभएको थियो। त्यो बाटोबाट मन्त्रीज्यू किन आउनुभएको होला ? यो घटनालाई अर्को मोडतर्फ लैजान यसले उत्प्रेरकको भूमिका खेलेको छ। त्योअघि प्रहरीले लाठी चार्ज, अश्रु ग्यासलगायत मात्रै गरेको थियो। मन्त्रीजीको गाडी त्यहाँ आइसकेपछि उहाँ बाहिर निस्केर सवाल जवाफमा पनि लाग्नुभएछ,’– बैठकमा गृहमन्त्री श्रेष्ठले भने ।

प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले पनि भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालाको गाडी गएपछि घटना भएको प्रष्टीकरण दिए । ‘मन्त्रीको गाडी आएपछि अवस्था बिग्रेको हो। त्यो गाडी त्यहाँ नआएको भए यो घटना हुने थिएन,’– महानिरीक्षक कुँवरले भने ।

त्यस्तै, नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य गगन थापाले ज्वालाको चरम लापरबाहीले घटना निम्तिएको आरोप लगाए । मन्त्री ज्वालाले त्यहाँ प्रदर्शन छ भन्ने थाहा हुँदाहुँदै जबरजस्ती गर्दा ठूलो दुर्घटना भएको आरोप लगाए । उक्त तथ्यलाई समितिले हेर्नुपर्ने सांसद थापाको भनाई छ ।

‘त्यहाँ घटना हुँदै छ भन्ने थाहा पाउँदा पाउँदै त्यो जबर्जस्ती हो । चरम लापरबाही हो, हेपेको हो । मन्त्रीकै लापरबाहीकै कारणले ठूलो दुर्घटना भयो । यो समितिले मन्त्रीज्यूको त्यो हेर्छ कि हेर्दैन ?’ उनले प्रश्न गरे ।

त्यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पनि मन्त्री ज्वालाको गम्भीर लापर्वाहीका कारण घटना घटेको बताउँदै आएका छन् । प्रदर्शन भइरहेको छ भन्ने थाहा हुँदाहुँदै सुरक्षा संवेदनशीतलालाई ख्याल नगरी मन्त्री ज्वालाले त्यो बाटो प्रयोग गरेको खतिवडाको आरोप छ ।

कोरिया भाषा परीक्षाबारे विवादमा आन्दोलनरत युवाहरुले बालकुमारीमा मन्त्री ज्वालाको गाडीमा आगजानीसमेत गरेका थिए । सोही क्रममा प्रहरीले चलाएको गोली लागेर दैलेखका २३ वर्षीय सुजन रावत र अछामका २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको थियो ।

मन्त्री सवार गाडीमा आगजानी हुनु आफैंमा दुःखद् हो । तर, त्यो भन्दा महत्वपूर्ण व्यक्तिको बाँच्न पाउने अधिकार राज्यको गोलीबाट हरण हुनु महादुःखद् पक्ष हो । मानव अधिकार त्यस्तो अधिकार हो, जुन मानव भएर जन्मिएको कारण व्यक्तिले उपभोग गर्न पाउँछ । मानव अधिकारको प्रकृति विश्वव्यापी, अविभाज्य र अहरणीय हुन्छ । तर, एउटा मन्त्रीको हठका कारण दुई जना युवाले ज्यान गुमाउनु निन्दनीय र भत्र्सनायोग्य छ ।

नेपालको संविधानले ‘सबै नागरिक कानूनको दृष्टिमा समान हुनेछन् । कसैलाई पनि कानूनको समान संरक्षणबाट वञ्चित गरिने छैन’ भनी मौलिक हकअन्तर्गत समानताको हकको प्रत्याभूति गराएको छ । यस अर्थमा बाँच्न पाउने हक आम नागरिक र मन्त्री सबैको बराबरी हो । मन्त्री ज्वालामाथि यी आरोप लाग्नुअघि नै उनले पदबाट राजीनामा दिनु सान्दर्भिक देखिन्थ्यो । तर, क्याविनेटका उपप्रधान एवं गृहमन्त्री, सुरक्षा निकायका प्रमुख र अन्य दलका नेताहरुले उनको गल्तीका कारण घटना भएको आरोप लगाए पनि उनले नैतिक जिम्मेवारी लिने छाँटकाट देखाएका छैनन् ।

प्रहरीको गोली लागेर मृत्यु भएका दैलेखका २३ वर्षीय सुजन र अछामका २२ वर्षीय वीरेन्द्रको परिवारलाई राज्यले १०/१० लाख क्षतिपूर्ति दिँदैमा घटनामा संलग्न भएकाले छुटकारा पाउन हुँदैन । राज्यको गोलीले दुई होनहार युवाको मात्रै बध गरेन, उनीहरुको परिवारको सपना, आमाबाबुको बुढेसकालको साहारा र मानव अधिकारकै बध गर्यो ।

सुरक्षा संवेदनशीतलालाई वास्ता नगरी सो बाटो प्रयोग गर्दा घटना भएको भनी सुरक्षा निकायका प्रमखलगायतले आरोप लगाउँदै गर्दा मन्त्री ज्वालाले भने घटना हुँदाको बखत आफू सो गाडीमा सवार नरहेको झुठो अभिव्यक्तिसमेत दिन भ्याए । घटनाबारे प्राप्त भिडिओ फुटेजका आधारमा उनी सोही गाडीमा सवार रहेको र प्रदर्शनकारीले गाडी नियन्त्रणमा लिएपछि उनलाई सुरक्षाकर्मीहरुले सुरक्षित स्थानतर्फ लगेको प्रष्ट रुपमा देख्न सकिन्छ । दुई जना होनहार युवाको ज्यान जानेगरी भएको उक्त घटनामा मन्त्रीले नै झुठो अभिव्यक्ति दिनु आफैंमा दुःख, गैरजिम्मेवार र आपत्तिजनक छ । आफ्नै कमजोरीका कारण घटेको घटनाको सत्यतासमेत स्वीकार गर्न नसक्ने मन्त्री ज्वालाबाट आम नागरिकले के अपेक्षा राख्ने ?



प्रतिक्रिया दिनुहोस्

Screenshot