काठमाडौं । नेपाली कांग्रेसले एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आईसीएपीपी) को स्थायी समितिमा कांग्रेसको प्रतिनिधित्व गर्दै आएकी सुजाता कोइरालालाई हटाएर उपसभापति विनोदकुमार चौधरीलाई जिम्मेवारी दिएका छन्।
नोभेम्बर ५ मा कांग्रेस केन्द्रीय कार्यालयले आईसीएपीपी स्थायी समिति अध्यक्ष चुङ ई-योङलाई पत्र पठाउँदै चौधरीलाई सुजाताको स्थानमा मनोनीत गरिएको औपचारिक जानकारी गराएको हो।
कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालद्वारा हस्ताक्षरित पत्रमा सभापति गगनकुमार थापाकाे तर्फबाट चौधरीलाई तत्काल लागू हुने गरी पार्टीको प्रतिनिधिका रूपमा मनोनीत गरिएको उल्लेख छ।
सुजाता काेइरालाई हटाएर सभापति गगनकुमार थापाले पार्टीका उपसभापति चाैधरीलाई जिम्मेवारी दिएपछि पार्टीभित्रै हलचल भएकाे छ । सभापति थापाकाे निर्णयपछि काेइरालाले भने असन्तुष्टि जनाएकी छन् ।
सुजातालाई हटाउने निर्णयले संस्थापनभित्रै असन्तुष्टि!
संस्थापन पक्षसँग निकट मानिएकी सुजाता कोइरालालाई अन्तर्राष्ट्रिय जिम्मेवारीबाट हटाइनुलाई कांग्रेसभित्र सामान्य निर्णयका रूपमा मात्र हेरिएको छैन। पार्टीको निर्णयप्रति सुजाता असन्तुष्ट छन्।
एकातिर पार्टीको नेतृत्व सम्हालेका गगन थापाले चौधरीलाई अन्तर्राष्ट्रिय मञ्चमा अघि सारेका छन् भने अर्कोतिर यसअघि जिम्मेवारीमा रहेकी कोइरालालाई बाहिर राखेका छन्।
यता, शशांक कोइराला १५औँ समानान्तर महाधिवेशनका लागि अन्तिम तयारीमा जुटेका छन् । शेखर कोइराला भने अहिलेसम्म कुनै समूहमा खुलेर सहभागी भएका छैनन्।
यस्तो अवस्थामा सुजाताको जिम्मेवारी परिवर्तनले कोइराला परिवारसँग जोडिएको राजनीतिक वृत्तमा समेत चासो बढाएको छ।





प्रतिक्रिया