Logo

मध्यवर्ती क्षेत्रका जनताको समस्या बुझ्दै प्राकृतिक स्रोत समिति



राँझा (बाँके), १८ पुस । बाँके र बर्दियामा निकुञ्जको मध्यवर्ती क्षेत्रका जनताले भोग्नुपरेको समस्या बुझ्न प्रतिनिधिसभा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको टोली खटिएको छ ।

प्राकृतिक स्रोत समितिले निकुञ्ज मध्यवर्ती क्षेत्रका जनता, जनप्रतिनिधिलगायत सरोकारवालासँग बुधबार बाँके र बिहीबार बर्दियामा छलफल गर्ने भएको छ । मध्यवर्ती क्षेत्रमा बसोबास गर्दै आएका जनताले जङ्गली जनावरलगायत निकुञ्जका कारण भोग्नुपरेको वास्तविक समस्या बुझ्न समितिका सभापति डा आरजु राणाको नेतृत्वमा छ सदस्यीय टोली छलफलमा सहभागी हुने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्य एवं बाँके क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सूर्य ढकालले जानकारी दिए ।

उनका अनुसार बाँके निकुञ्जको मध्यवर्ती क्षेत्रका जनताले भोग्नुपरेको समस्याका बारेमा आज दिउँसो कोहलपुर नगरपालिकाको चप्परगौडीमा अन्तक्र्रिया तय गरेको छ । अन्तक्र्रियामा सरोकार भएका निकायको तर्फबाट निकुञ्जका अधिकारी, मध्यवर्ती क्षेत्रका जनता, राप्ती सोनारी र कोहलपुर नगरपालिकाका जनप्रतिनिधिलाई सहभागिताका लागि अनुरोध गरिएको छ । समितिले आजै ३ देखि ५ बजेसम्म कोहलपुरस्थित भेरी शीतभण्डारमा सहकारीसम्बन्धी छलफल गर्ने कार्यक्रम तय भएको छ ।

बाँके राष्टिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा राप्ती सोनारी गाउँपालिकाको वडा नं १, २, ८ र ९ तथा कोहलपुर नगरपालिकाको १२ र १३ नं वडा रहेका छन् । मध्यवर्ती क्षेत्रका बासिन्दाले भोग्दै आएको समस्या मिनी संसद्का रूपमा चिनिने प्रतिनिधिसभा, प्राकृतिक स्रोत समितिमा राख्न पाउने अवसर पाएका छन् ।

जनताले वास्तविकरूपमा भोग्दै आएका समस्यालाई प्रत्यक्ष हेरेर, बुझेर उनीहरूले दिएको सुझावलाई ग्रहण गरिने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्य एवं बाँके क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य ढकालले उल्लेख गरे ।

राप्ती सोनारी गाउँपालिकाको मध्यवर्ती क्षेत्रमा पर्ने वडाका वडाध्यक्ष तथा कार्यपालिका सदस्यले गाउँपालिकाले समितिको कार्यक्रमलाई प्राथमिकता दिएर स्थानीय सरकारको तर्फबाट राय–सुझाव दिई राज्यको ध्यानाकर्षण गर्न माग गरेका छन् ।

राप्ती सोनारी गाउँपालिका कार्यपालिका सदस्य एवं वडा नं ९ का वडाध्यक्ष सोहनलाल थारूले समितिले जिल्लामै आएर मध्यवर्ती क्षेत्रका जनताले भोग्दै आएको समस्याका बारेमा छलफल गर्नु सकारात्मक भएको बताए । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot