Logo

व्यवसायीलाई राज्यले प्रोत्साहन गर्नुपर्छः मन्त्री गुरुङ



काठमाडौं, १९ पुस । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले हरेक व्यवसायीलाई राज्यले उचित संरक्षण र प्रोत्साहन गर्नुपर्ने बताएका छन् ।

नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासङ्घको आज ललितपुरमा आयोजित सातौं वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री गुरुङले उद्यमी–व्यवसायीलाई राज्यले संरक्षण गर्ने बताएका हुन् । “हरेक व्यवसायीलाई राज्यले प्रोत्साहन गर्नुपर्छ, हामी त्यसमा प्रतिबद्ध छौँ,” व्यवसायीका समस्या समाधानका निम्ति आवश्यक कानुन तर्जुमा गर्ने बताउँदै उनले भने ।

ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्यले व्यवसायीहरूबीच आपसी समन्वय, सहकार्य र एकता कायम गर्नु अपरिहार्य भएको बताए । उनले सबै व्यवसायमा कानुनी अड्चन र करका समस्या समाधानमा राज्यले सघाउनुपर्नेमा जोड दिए ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष तेविन्द्ररत्न शाक्यले क्याटरिङ व्यवसायलाई सेवामूलक व्यवसायका रूपमा अगाडि बनाउन कानुनीतहबाटै सहयोग हुनुपर्ने धारणा राखे ।

पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी सङ्घ, ललितपुरका अध्यक्ष हिमकिशोर राईले सामाजिक सुधार ऐन, २०३३ अव्यावहारिक भएको र त्यसलाई खारेज गर्न माग गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot