Logo

भारतीय दूतावासले दिने २० करोड सहयोगबारे अनावश्यक भ्रम फैलाइयो, यो नेपालको हीतमा छः विश्लेषक सेढाईँ



काठमाडौं, २६ पुस । राजनीतिक विश्लेषक हेमन्त सेढाईँले भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भ्रमणमा आएका बेला भएको सम्झौताबारे अनावश्यक भ्रम फैलाइएको बताएका छन् । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षतकार कार्यक्रमलाई सम्बोधन गर्दै उनले भारतीय दूतावासले २० करोड सिधै आफूले चाहेको परियोजनामा दिने कुरामा सत्यता नरहेको बताएका हुन् । कुनै पनि परियोजनलाई सहयोग गर्न भारतीय दूतावासले अर्थमन्त्रालयको स्वीकृति लिनुपर्ने र सम्बन्धित मन्त्रालयको समेत स्वीकृति र स्थानीय तहले सहयोग स्वीकार गरेपछि मात्रै भारतले सहयोग दिनसक्ने बताए । केही मान्छेहरु राजनीतिक दलहरुले अहिले सिंहदरबारमा एउटा मन्त्रालय र लैनचौरमा अर्को मन्त्रालय छ भनेर भ्रमको खेति गरेको टिप्पणी गरे ।

भारतले दिने २० करोड रुपैयाँ लगानी नभएर सहयोगको रुपमा रहेको उनले बताए । उनले उक्त सहयोग सूर्यबहादुर थापा प्रधानमन्त्री हुँदादेखि निरन्तर जारी रहेको र अहिले आएर केहीमात्रा बृद्धिमात्रै भएको बताए । भारतीय सहयोगका बारेमा अहिले भइरहेको प्रचारभन्दा त्यसको यथार्थ ठीक उल्टो रहेको उनले दाबी गरे ।

‘सूर्यबहादुर थापाको पालामा ३ करोड थियो । बाबुराम भट्टराईको पालामा पाँच करोड भयो । अहिले चार गुणा बढेर २० करोड भएको छ । यो लगानी होईन, यसलाई सहयोग भनिएको छ ।’ उनले भने, ‘यसलाई साना विकास परियोजना भनेर सर्ट ट्रम प्रोगामअन्तर्गत आइरहेको छ । यहाँ भारतले आफ्नो निकट नेताहरुलाई यो पैसा बाँढ्ने हो, लक्षित वर्गमा यो पैसा पुग्दैन भनेर प्रचार भइरहेको छ । तर, यथार्थ ठीक उल्टो हो ।’

अहिलेसम्म उक्त परियोजनाबाट भारतले सातै प्रदेश र ७७ वटै जिल्लामा सहयोग दिइरहेको उनले बताए । उनले अहिले भारत सरकारको उक्त परियोजनाबाट देशभर पाँच सय ५० प्रोजेक्ट सञ्चालनमा रहेको बताए । भारतले आजसम्म २० वर्षको दौरानमा १२ दशमलव २ मिलियन नेपाली रुपैयाँ उक्त परियोजनाबाट सहयोग गरेको उनको दाबी छ । विश्लेषक सेढाईँले पछिल्लो समय भारतले उक्त परियोजनालाई ‘स्मल प्रोजेक्ट, विग इम्प्याक्ट’ नामाकरण गरेको बताए । भारतले २० करोड सहयोग दिँदा विरोध गर्नेहरुले ६० वर्षदेखि जापनले दिएको, बेलायतले दिएको सहयोग विर्सन नहुने उनले बताए ।

भारतले उक्त परियोजनाअन्तर्गत शिक्षा, स्वास्थ्य कृषि सिँचाई खानेपानी लगायतका १० शीर्षकमा सहयोग दिइरहेको उनले बताए । उनले दूतावासले ब्रिफकेसमा पैसा बाँड्ने जसरी भ्रम फैलाइएको बताए ।

साथै, प्रहरीले गत मंगलबार पक्राउ गरेका रामबहादुर बम्जन आफैंमा खराब पात्र भएको उनले टिप्पणी गरे । नेपालमा बुद्धको आफ्नो पहिचान र अस्तित्व कायमै रहेको र अर्को बुद्धको कुनै औचित्य नरहने उनको भनाइ छ ।

‘उ बेलाको बुद्ध दरबार छोडेर हिँडेको, यसपालीको बुद्ध ध्यान गर्दा सालको पातमाथि रुखमुनि बसेको । ध्यानबाट मुक्ति प्राप्त भएपछि उहाँलाई एसी भएको घर चाहिएको ।’ बम्जनका बारे कडा शब्दमा आलोचना गर्दै उनले भने, ‘प्राडो ल्याण्ड क्रुजर गाडी । बुद्धले जिम गर्छन ? यो हामीले बोल्न लायक प्रसंगनै होईन ।’

शान्तिको खोजीमा संसार बदल्न हिँडेका बम्जन केवल आफैं बदलिएको उनको टिप्पणी छ ।उनले पैसा देखेपछि बम्जनको पनि तेस्रो नेत्र खुलेको टिप्पणी गरे ।

साथै, क्रिकेटर सन्दीप लामिछानेलाई जबरजस्त कसुरदार ठहर गर्ने काम भएको उनले बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत प्रशंसा गरेका खेलाडी सन्दीपलाई प्रमाणविना नै कसुरदार ठहर गरिएको भन्दै उनले आपत्ति जनाए ।

‘हाम्रो क्रिकेटर, राष्ट्रिय खेलाडी । मोदीले पनि पहिलो पटक नेपाल आउँदा रोस्टमबाट भन्नु भएको, उहाँले उहाँले यो प्रचण्डको देश भन्नुभएन । ओलीको, शेरबहादुरको देश भन्नु भएन । यी लठुवाहरुलाई मोदीले चिन्नुभएन । तर, सन्दीप लामिछानेको देश हो भनेर उहाँले भन्नुभयो । अरु पनि थिए नि ?’ उनले प्रश्न गरे ।

संसारले चिनेको, भारतमा गएर आइपिएल खेलेको खेलाडी लामिछानेलाई युवतीले मलाई बलात्कार भयो भनेर बोलेको भरमा कसुरदार ठहर गरिएको उनको भनाइ छ । उनले लामिछानेको उक्त प्रकरणलाई ‘काल पल्किएको’ संज्ञा दिए । कुनै प्रमाणले पुष्टि गर्ने ठाउँनै नहुँदा पनि सन्दीप फसेको उनको भनाइ छ । युवतीले बोलेकै भरमा सन्दीपको बालात्कार पुष्टि भएको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot