Logo

परिचालितहरुले बम्जनमाथि आरोप लगाएको पूर्वराज्यमन्त्री लामाको दाबी, ठग र बलात्कारी प्रमाणित गर्न चुनौती



काठमाडौं, २७ पुस । नेपाली कांग्रेसकी नेतृ एवं पूर्वराज्यमन्त्री यशोदा लामाले तपस्वी रामबहादुर बम्जनमाथि लागेको गठी र बलात्कारको आरोप पुष्टि गरेर देखाउन चुनौति दिएकी छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले बोल्दैमा र आरोप लगाउँदैमा कोही पनि दोषी नहुने बताईन् ।

‘ठग भनेर राज्यले प्रमाणित गर्नुपर्यो । बोल्दैमा, कसैले मुद्दा हाल्दैमा त्यो प्रमाणित हुँदैन । मुद्दा हाल्ने मान्छे कहाँ हराएको छ । जब कसैले आरोप लगाउँछ भने अनुसन्धान त गर्न पाइन्छ,’– उनले भनिन् ।

बम्जन पक्राउ परेपछि सिआईबी कार्यालय पुगेर छोड्न दवाब दिएको भनेर लामाको आलोचना भइरहेको छ । पूर्वराज्यमन्त्री लामाले भने आफू वास्तविकता बुझ्न सिआईबी कार्यालय पुगेको बताईन् । बम्जनमाथिको निश्पक्ष अनुसन्धानमा आफूहरुको कुनै अवरोध नरहेको उनले बताईन् ।

‘यसमा हाम्रो अवरोध, विरोध छैन । अरु भएको भए यतिबेला काटामार हुन्थ्यो । ३० देखि ३५ लाख अनुयायी भएकाहरु धर्म भएका गुरुलाई हत्कडी लगाएर राख्दैगर्दा त्यहाँ रगतको खोलो बग्थ्यो । हामी थुन्यो रे भनेपछि सत्यतथ्य बुझ्न पुगेको हो,’– उनले भनिन् ।

बम्जन पानीभित्र एक वर्ष, रुखमा एक वर्ष, जमिनमा, ओढारमा गरी छ वर्षसम्म निराहार बसेको उनको दाबी छ । उनको तपस्या विश्वलाई जानकारी रहेको र ध्यान गर्ने मान्छे, ध्यानीहरु बुद्ध हुन् भनेर बम्जनलाई लिटिल बुद्ध नामाकरण गरिएको उनको भनाई छ ।

बम्जनमाथि केही परिचालित मानिसहरुले आरोप–प्रत्यारोप गरेको उनको दाबी छ । बम्जनका बारेमा सत्यतथ्य थाहा नपाएका र कहीँकतैबाट परिचालित व्यक्ति, समूह, झुण्डहरुको झुण्डाले उनीमाथि आरोप लगाएको उनको भनाइ छ ।

नेतृ लामाले बम्जन आफ्नो गुरु भएको बताईन् । बम्जन सत्य भएको बताउँदै उनले कसैको दोकान बन्द हुने भएपछि नियोजित रुपमा योजना बनाइएको उनको आरोप छ ।

नेपालमा बम्जनका भक्तहरु ३५ लाख रहेको उनको दाबी छ । बम्जनको घरबाट प्रहरीले बरामद गरेको पैसा कुनै ठूलो कुरा मान्न नहु्ने उनको भनाइ छ । बम्जनका अनुयायीहरुले अर्पण गरेको पैसा भएको उनको दाबी छ ।

‘दैनिक उठाएका रकमबाट, हामी पुजा गर्दा भेटी चढाउँछौं । नेपालमा ३० देखि ३५ लाख अनुयायी छन् भने एक रुपैयाँले ३५ लाख दैनिक उठ्छ । अर्पण गरिएको पैसा अवैध कसरी हुन्छ ? म उहाँको अनुयायी हो । मैले एक रुपैयाँको कुरा गर्दैछु् । सिआईबीले पनि अनुसन्धान गरोस्,’– उनले भनिन् ।



प्रतिक्रिया दिनुहोस्