Logo

बागमतीको स्पिन अट्याकसामू सुदूरपश्चिमको चलेन ब्याट, बागमती दोस्रो स्थानमा उक्लियो



काठमाडौं,११ माघ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा बागमती प्रदेशले पाँचौ जित निकालेको छ । पाँचौ जित निकाल्नेक्रममा बागमतीले सुदूरपश्चिमलाई ९७ रनको फराकिलो अन्तरले हराएको हो ।

बागमतीले दिएको २४८ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको सुदूर ३१ ओभरमा १५० रन बनाउँदै अलआउट भयो । सुदूरका लागि नरेन भट्ट र किरण ठगुन्नाले समान ४१ रन जोडेपनि अन्य ब्याटरको ब्याट चल्न सकेन । मधेश प्रदेशविरुद्ध शतक प्रहार गरेका नरेनले ४४ बलको सामना गर्दा ६ चौका हिर्काएका थिए भने किरणले २७ बलमा ४ चौका र ३ छक्का हिर्काका थिए । त्यस्तै ओपनर खडक बोहराले २१ रन थप्दा कप्तान राजु रिजाल २ रनमा आउट भए भने गजेन्द्र बोहरा, मिलन बोहरा र नारायण जोशीले समान ८ रन थपे ।

बलियो टिम सुदूरलाई सस्तैमा रोक्न बागमतीका सूर्य तामाङ र विपीन आचार्यले अट्याकिङ बलिङ गरे । ७ ओभर बलिङ गरेका सूर्यले तीन मेडन राख्दै १७ रन खर्चिँदा ८ ओभर बलिङ गरेका विपीनले २ मेडन राख्दै ३२ रन दिएका थिए । कृजल गुरुङ र सोनु देवकोटाको नाममा पनि समान एक विकेट रह्यो । यो जित सँगै बागमतीले ८ खेलमा १० अंक जोडेर शीर्ष दुईमा रहँदा सुदूर भने ८ अंकसहित चौथो स्थानमा झरेको छ ।

यसअघि मूलपानी मैदानमा सुरुआतमा ब्याटिङ गरेको बागमतीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २४७ रन जोड्यो । बागमतीका लागि ओपनर आशुतोष घिरैयाले अर्धशतक प्रहार गरे । ६२ बलको सामना गरेका उनले ६ चौका र ३ छक्का हिर्काउँदै ५४ रन जोडे ।

कप्तान रित गौतमले ४४ रन जोड्दा अशोक पौडेलले ३१, रविन जोशीले २४ तथा इशान पाण्डेले २, विपीन आचार्यले १२,सूर्य तामाङले ९ तथा प्रतिश जिसीले १८ रन जोडे भने सोनु देवकोटा २० बलमा २८ रन र कृजल गुरुङ १ बलमा ४ रन जोड्दै नटाआउट रहे ।

बलिङतर्फ सुदूरका नारायण जोशी र शेर मल्लले समान तीन तथा विकाश आग्रीले २ र मिलन बोहराले १ विकेट लिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot