Logo

शहीदका बलिदानको ऋण तिर्न सकिँदैन: उपराष्ट्रपति यादव



काठमाडौं, माघ १६ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले शहीदको सम्मानका लागि त्याग र आहुतिको स्मरण गर्दै समाजमा जागरुकता र चेतना फैलाउन जरुरी रहेको बताएका छन् ।

शहीद दिवस, २०८० को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले त्यसो गर्न सके मात्रै शहीदहरुले दिएको बलिदानका कदर हुने बताएका छन्।

अमर शहीदले दिएका बलिदानीको ऋण तिर्न नसकिने समेत उल्लेख गर्दै उपराष्ट्रपति यादवले वीर शहीदहरुको सपना र आकाङ्क्षा साकार पार्न सम्पूर्ण राजनीतिक दल, नागरिक समाजलगायत सबैले दृढ सङ्कल्प, उच्च अठोट, पवित्र मन, वचन र कर्मका साथ लाग्नुपर्नेमा जोड दिएका छन्।

उपराष्ट्रपति यादवले महान् शहीदको बलिदानबाट प्राप्त उपलब्धिहरुको माध्यमबाट मुलुकको दिगो शान्ति, सुशासन, विकास, सबलीकरण, समृद्धिको आकाङ्क्षा पूरा गर्नुपर्ने बताएका छन्।

उनले नेपालजस्तो विविधतामा एकताको धनी र संस्कृति सम्पन्न मुलुकमा समय–समयमा कुनै न कुनै महापुरुषले जन्म लिई देशको सुरक्षा, लोकतन्त्र, समावेशिता र पहिचानका लागि आफ्नो ज्यानको आहुति दिएको स्मरण गरेका छन्।

उपराष्ट्रपति यादवले कुनै कारणबाट देशका महान् मार्गदर्शक, वीर सपुत र वीरङ्गनाहरु टाढिए पनि स्वाधीनता, अखण्डता, सार्वभौमिकता, सुरक्षाको महान् दायित्व सबै देशभक्तलाई सुम्पिएर गएको जनाएको छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot