‘मत हराउने र मतपेटिकामा प्रश्न उठ्ने अवस्था अन्त्य होस्’ : प्रचण्ड


काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष, धाँधलीरहित र पारदर्शी बनाउन निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन्।

शुक्रबार निर्वाचन आयोगले राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलहरूसँग आयोजना गरेको छलफलमा धारणा राख्दै प्रचण्डले मतदाताले निर्बाध रूपमा मतदान गर्न पाउने वातावरण सुनिश्चित गर्नुपर्नेमा जोड दिएका हुन्।

उनले विगतका निर्वाचनमा मतगणना, मतपरिणाम र मतपेटिकाको व्यवस्थापनलाई लिएर विभिन्न प्रश्न तथा गुनासा उठ्ने गरेको स्मरण गराए। कतिपय उम्मेदवारले आफ्नो मत हराएको, अपेक्षाभन्दा फरक मतपरिणाम आएको र मतपेटिका ओसारपसार गर्दा उम्मेदवारका प्रतिनिधिलाई सहभागी नगराइएको जस्ता गुनासा आउने गरेको उनको भनाइ थियो।

‘विगतमा उठेका यस्ता प्रश्न र गुनासा आगामी निर्वाचनमा दोहोरिन दिनु हुँदैन,’ प्रचण्डले भने। निर्वाचन प्रक्रियालाई थप पारदर्शी र विश्वसनीय बनाउन आयोगले विशेष ध्यान दिनुपर्ने उनले बताए।

प्रचण्डले अघिल्लो निर्वाचन सामान्य परिस्थितिमा सम्पन्न नभएको उल्लेख गर्दै लोकतन्त्रको निरन्तरता र संविधान कार्यान्वयनलाई गति दिन राजनीतिक दल तथा नेताहरूले विशेष भूमिका खेलेको बताए। निर्वाचनको मूल्याङ्कन गर्दा मत परिणाम र जित–हारलाई मात्र नभई लोकतन्त्रको संस्थागत विकासमा दलहरूले खेलेको भूमिकालाई पनि हेर्नुपर्ने उनको धारणा थियो।

निर्वाचनको समयतालिकाबारे धारणा राख्दै उनले संविधान र कानुनको व्यवस्थाभित्र रहेर निर्वाचन गर्नु उपयुक्त हुने बताए। स्थानीय तहको निर्वाचन वैशाखभित्र र प्रदेशसभा निर्वाचन मंसिरमा गर्ने गरी निर्वाचन आयोगले प्रस्ताव गरेको समयतालिका उपयुक्त देखिएको उनको भनाइ थियो। यद्यपि, यसबारे पार्टीभित्र थप छलफल र अध्ययन गरेर अन्तिम धारणा बनाउने उनले बताए।