Logo

मंसिर ७ मा तागत नापेँ, फागुन १ गतेदेखि तस्करविरुद्धको आन्दोलन हुँदैछः दुर्गा प्रसाईँ (भिडिओसहित)



काठमाडौं, २० माघ । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले आगामी फागुन १ गतेदेखि तस्करविरुद्धको आन्दोलनको उद्घोष गरेका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफूले गत मंसिर ७ मा आन्दोलन गरेर तागत नापेको र अब फागुन १ गतेदेखि संगठित रुपमा तस्करविरुद्ध आन्दोलन गर्ने बताएका हुन् ।

‘फागुन १ गतेदेखि यो देशमा तस्करविरुद्धको आन्दोलन हुँदैछ । मैले मंसिर ७ गते त मिडिया ट्रायलमात्रै गरेको हो । मैले आफ्नो तागत नापेको हो । एउटा दुर्गा प्रसाईँले गरेको थियो । अब त संगठन बनाएर फागुन १ गतेदेखि गर्दैछु्,’– उनले भने ।

उनले आफूलाई जंगबहादुर लि क्वान्युसँग तुलना गर्दै उनले यो देशमा दलीय ब्यवस्था सफल नहुने दाबी गरे । देशका लागि दल र संघीयता आवश्यक नरहेको उनको भनाइ छ ।

‘यो देशमा दलीय व्यवस्था सफल हुँदैन । जंगबहादुर, लि क्वान्यु जस्तो । के सिंगापुरमा दल छ ? साउदी अरेवियामा दल छ ? सबैभन्दा सुखी देश यिनै छ । नेपालजस्तो देशमा दल र संघीयता चाहिँदैन । अनि यिनीहरुजस्ता तस्कर पनि चाहिँदैन,’– उनले भने ।

देशमा अहिले पनि अभिव्यक्ति स्वतन्त्रता नरहेको उनको दाबी छ । आफूले शान्तिपूर्ण आन्दोलनको नेतृत्व गर्दा घरमै नजर बन्दमा परेको दाबी गर्दै उनले अभिब्यक्ति स्वतन्त्रताको आभास नरहेको बताएका हुन् ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’, केपी ओली र शेरबहादुर देउवाकै कारण संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा परेको उनको टिप्पणी छ । राजालाई हटाएपछि राजालाई बिर्साउने काम गर्नुपर्नेमा यी नेताहरुले पटक–पटक जनतालाई राजा सम्झिन बाध्य बनाएको उनको दाबी छ । File Photo/RN



प्रतिक्रिया दिनुहोस्

Screenshot