Logo

सरकार ढाल्ने तयारीमा एमाले, सत्तारुढ गठबन्धनमा हलचल ल्याउने चेतावनी



काठमाडौं, २१ माघ । नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले वर्तमान सरकारको औचित्य सकिएको बताएका छन् ।वर्तमान सरकारको जतिसक्दो चाँडो बहिर्गमन आवश्यक रहेको उनको भनाइ छ । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले वर्तमान सरकार ढाल्न आफूहरुले विभिन्न राजनीतिक दलहरुबीच खुल्ला बहस सुरु गरिसकेको बताए । उनले वर्तमान सत्ता गठबन्धनमा रहेका दलहरुले नै एमालेलाई समर्थन गर्ने बताए ।

‘यो सरकारको जतिसक्दो छिटो बहिर्गमन देशका लागि अनिवार्य छ । अहिले अंकगणितको हिसाबले हामीले सरकार निर्माण गर्नसक्ने अवस्था छैन । देश बवार्द भइरहेको छ, यस्तो स्थिति हामीले हेरेर बस्नसक्ने अवस्था पनि छैन । हामी संसद्भित्र सुशासनको सवाल, समृद्धिका मुद्दाहरु र राष्ट्रिय स्वाधिनताका विषयहरुमा आम नेपाली जनताका जनसरोकारका मुद्दाहरुलाई पनि संसद्मा सघन ढंगले ठूलो आवाजको साथ हामी उठाउँछौं । साथसाथै यो सरकारबाट देशको निकास छैन ।’ उनले भने, ‘यो देशलाई आजको परिस्थितिबाट माथि लानसक्ने अवस्था रहेन । जिम्मेवार राजनीतिक शक्तिहरु एक ठाउँमा उभिएर यो सरकारको विकल्प दिनुपर्छ, नयाँ सरकार दिनुपर्छ भन्ने विषयमा हामी खुल्ला वहस सुरु गर्छौं । यदि अब पनि यो देशमा अर्को सरकार दिन सकिएन भने देश थप वर्बादीतिर जाने अवस्था छ भनेर अन्य पार्टीहरुले पनि भनिरहेको अवस्था छ ।’

वर्तमान सरकारसँग सत्तारुढ गठबन्धनमा रहेका दलहरु पनि असन्तुष्ट रहेको आफूहरुले पाएको बताउँदै उनले उनीहरु पनि एमालेले बनाउने नयाँ गठबन्धनमा आउने संकेत गरे । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनमा मात्रै अर्को सरकार दिन नसकिने भएकाले आफूहरुले खुल्ला बहस सुरु गरेको उनले बताए । अब माओवादी–कांग्रेसबीचको गठबन्धनमा विचलन ल्याउने काममा आफूहरु लाग्ने उनको भनाइ छ ।

लोकप्रिय मतको हिसाबले एमाले देशको सबैभन्दा ठूला पार्टी भएको स्मरण गराउँदै उनले प्रचण्डले अवसर पाएर पनि काम गर्न नसकेको बताए । प्रचण्डले ‘विगतमा मैले अवसर पाएर पनि जे गर्नुपथ्र्यो, गर्न सकिँन । त्यसबाट मैले शिक्षा लिएको छु, अनुभव लिएको छु । यस पटक देश र जनताका लागि राम्रो गरेर देखाउँछु । मेरो अन्तिम अवसर हो, सदुपयोग गर्छु’ भनेर एमालेलाई विश्वासमा लिएर प्रधानमन्त्री बने पनि त्यसो गर्न नसकेको बताए ।

अहिले देशमा भ्रष्टाचारमा व्याप्त रहेको र अर्थतन्त्र धरासायी स्थितिमा पुगेको उनको भनाइ छ । वर्तमान सरकारकै पालामा जनतामा निराशा बढेको उनले बताए । उनले वर्तमान सरकारको पालमाजस्तो निराशा इतिहासमा जनतामा कहिल्यै नरहेको दाबी गरे । File Photo/RN



प्रतिक्रिया दिनुहोस्