Logo

प्रतापपुरले गर्यो सार्वजनिक सुनुवाइ



नवलपरासी, २४ माघ । नवलपरासी बर्दघाट सुस्ता पूर्वको प्रतापपुर गाउँपालिकाले नागरिकहरु तथा सेवाग्राहीहरुको राय बुझ्ने तथा सेवाग्राहीहरुलाई परेको असुविधाप्रती उचित सम्बोधन गर्ने अभिप्रयले सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ।आज (बुधबार) गाउँपालिका कार्यालय बेलाटारीमा सार्वजनिक सुनुवाइ गर्दै स्थानीयका गुनासो सुनिएको हो।

रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश बुटवलको मिडिया संयोजनमा भएको सार्वजनिक सुनुवाइमा कृषि, स्वास्थ, शिक्षा, खानेपानी लगायतका बारेमा जिज्ञासा राखेका थिए। सहभागीहरुले सडक धुलो हुने, पालीकाको खर्च बढी रहेको कुराहरू उठाएका थिए।

कार्यक्रममा उठेका प्रश्नको जवाफ दिदै गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादवले आफूले चुनावी घोषणापत्र अनुसारका ८० प्रतिशत कामहरू शुरु गरेको जानकारी दिए। उनले उठेका समस्या एवं गुनासोहरुको बारेमा बोल्दै काम नगर्नेबाट कुनै गल्ती नहुने र काम गर्ने बाट गल्ती हुने भएकोले सच्च्याउदै आगामी दिनममा झकझकाउन आग्रह गरे।

अध्यक्ष यादवले एउटा तत्त्वले गाउँपालिकाका कामहरु रोक्ने योजनाबद्ध लागिरहेको बताए । त्यस्तो गर्दा पालिका जोखिममा रहने बताउदै त्यसो नगर्न चेतावनी दिए। उनले जनताको कामको लागि आफू जस्तोसुकै कदम चाल्न बाध्य हुने चेतावनी दिए।

कार्यक्रममा गाउँपालिका उपाध्यक्षमान कुमारी चौधरीले आफूले आफ्नो अधिकारभित्र रहेका कामहरू गर्दै आएको बताईन् । कमीकमजोरी भएमा आफू सच्चिन तयार रहेको उनको भनाइ थियो ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामजी जोशीले पालिकाले आर्थिक वर्षभित्र भएका कामहरु र भएका सम्झौताको बारेमा जानकारी गराएका थिए।

रिपोर्टर्स क्लव लुम्बिनी प्रदेश अध्यक्ष रामकुमार क्षेत्रीले क्लबले गर्दै आएका कामहरु र सार्वजनिक सुनुवाइबारेमा पालिकाको अवस्था जानकारी गराएका थिए । कार्यक्रममा वडा अध्यक्षहरु, सुरक्षा निकायका प्रतिनिधि, जनप्रतिनिधि, पूर्व जनप्रतिनिधि, कर्मचारी, पत्रकार तथा स्थानीयहरुको सहभागिता रहेको थियो।



प्रतिक्रिया दिनुहोस्

Screenshot