Logo

एनसेल शेयर खरिद-विक्री प्रकरणः छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्न समितिको निर्देशन



काठमाडौं, २८ माघ । प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिले एनसेल शेयर खरिद– विक्री प्रकरणबारे छानविन समितिले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ ।

आज (आइतबार) बसेको समितिको बैठकले उच्चस्तरीय छानविन समितिले बुझाएको प्रतिवेदन सार्वजनिक गरी तत्काल समितिलाई पनि उपलब्ध गराउन भनेको हो ।

सरकारले एनसेल शेयर खरिद–विक्री प्रकरणबारेमा छानविन गर्न पूर्व लेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय समिति बनाएको थियो । उक्त समितिले दुई महिना लामो अनुसन्धानपछि गत माघ १५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रतिवेदन बुझाएको थियो ।

एनसेल शेयर खरिद विक्री प्रकरण अस्वभविक देखिएको समितिले निश्कर्ष निकालेको थियो । प्रतिवेदन भने अहिलेसम्म सार्वजनिक गरिएको छैन । एनसेल प्रकरणलाई लिएर प्रधानमन्त्री प्रचण्डको सचिवालयले समेत आलोचना खेप्नु परेको थियो । File Photo/RN



प्रतिक्रिया दिनुहोस्

Screenshot