भारत–अमेरिका व्यापार सम्झौता नजिक


काठमाडाैँ। भारत र अमेरिकाले व्यापार, रक्षा, प्रविधि र ऊर्जा सुरक्षामा सहकार्य बढाउँदै प्रस्तावित द्विपक्षीय व्यापार सम्झौता चाँडै टुङ्ग्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

मुम्बईमा मङ्गलबार भारतीय विदेशमन्त्री एस जयशङ्कर र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबिच भएको भेटवार्तामा दुई देशको सम्बन्ध र क्षेत्रीय तथा विश्वव्यापी घटनाक्रमबारे छलफल भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ।

रुबियोले व्यापार सम्झौता अन्तिम चरणमा पुगेको र केही प्राविधिक विषय मात्र टुङ्ग्याउन बाँकी रहेको बताए। उनले सम्झौताका सबै विवरणमा सहमति भएपछि मात्र घोषणा गर्नुपर्नेमा जोड दिए।

भारत र अमेरिकाबिच प्रमुख राष्ट्रिय हितका विषयमा असाधारण तालमेल रहेको उल्लेख गर्दै उनले दुई देशबिच कूटनीतिक तथा आर्थिक सहकार्य विस्तार गर्नुपर्ने बताए। रुबियोले मुम्बईलाई भारतको आर्थिक केन्द्रका रूपमा उल्लेख गर्दै त्यहाँबाट व्यापार र लगानी विस्तारको सम्भावना रहेको धारणा राखे।

भारतको औपचारिक भ्रमणमा रहेका रुबियोले गुजरातको जामनगरमा उन्नत ऊर्जा सहकार्यबारे छलफल गर्ने कार्यक्रम छ । उनको भ्रमणले दुई देशबिच रणनीतिक साझेदारी थप सुदृढ गर्ने अपेक्षा गरिएको छ।