काठमाडौं,२५ चैत । गण्डकी प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेकपा एमालेका नेता खगराज अधिकारीले आज दाबी पेश गरेका छन् ।।
सत्ता उलटफेर भएपछि निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि गण्डकीमा मुख्यमन्त्री पद रिक्त छ । एमालेले आज एमाले, माओवादी र स्वतन्त्र सांसद राजीव गुरुङको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।
सत्ता गठबन्धनका नेताहरुका अनुसार नेपाली कांग्रेस नेतृत्वको अघिल्लो सरकारको पालामा भौतिक पूर्वाधारमन्त्री बनेका स्वतन्त्र सांसद राजीव गुरुङलाई पनि गठबन्धनमा समेटिएको छ । उनले पनि एमाले नेता अधिकारीलाई मुख्यमन्त्री बनाउन समर्थन जनाएका छन् । उनको समर्थनले सत्ता गठबन्धनलाई ठिक्क बहुमत पुग्दछ ।
६० सदस्यीय गण्डकी प्रदेशसभामा बहुमतका लागि ३१ सांसद चाहिन्छ । सत्ता गठबन्धनमा नेकपा एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८ र स्वतन्त्र दीपक मनाङ्गे एक गरी बहुमत पुग्छ ।
तर, सभामुख कृष्ण धितालले पदबाट राजीनामा नदिई मुख्यमन्त्रीमा समर्थन गर्दा कोशी प्रकरण दोहोरिने निश्चित भएको छ । कोशीमा नेपाली कांग्रेसका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउँदा तत्कालीन सभामुख बाबुराम गौतमले पनि समर्थन गरेका थिए ।
जसमा सर्वोच्च अदालतमा रिट परेको थियो । सर्वोच्चले सभामुखको हस्ताक्षरलाई अवैध ठहर गरेको थियो । अहिले फेरि सत्ता गठबन्धनले सोही प्रकरण दोहोर्याउँदै सभामुखलाई पनि सत्ता भागबन्डामा सामेल गरेका छन्।




प्रतिक्रिया