अमेरिकी हतियार रूसमाथि आक्रमण गर्न पाउनु युक्रेनका लागि ठूलो उपलब्धि


किएभ, युक्रेन, १८ जेठ । अमेरिकी राष्ट्रपति जो बाइडेनले किएभलाई रूसमा आक्रमण गर्न अमेरिकी हतियार प्रयोग गर्न अनुमति दिने निर्णयपछि युक्रेनको लडाइँलाई ‘उल्लेखनीय रूपमा’ सहयोग पुग्ने राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सञ्चार प्रवक्ताले शुक्रबार बताएका छन् ।

प्रवक्ता सेर्गी नाइकीफोरोभले खार्किभसँग सीमा जोडिएको क्षेत्रमा अमेरिकाले आपूर्ति गरेको हतियारको सीमित प्रयोगबारे कूटनीतिक च्यानलबाट सकारात्मक सङ्केत प्राप्त भएको बताएका हुन् ।

उनले भने, “यसले सीमापार रूसी आक्रमणको प्रतिकार गर्ने हाम्रो क्षमतामा उल्लेखनीय वृद्धि गर्नेछ ।”

लामो समयको नीति परिवर्तन गर्दै राष्ट्रपति जो बाइडेनले शुक्रबार युक्रेनलाई अमेरिकी हतियार प्रयोग गरेर रुसी भूभागभित्र लक्षित आक्रमण गर्न अधिकार दिएका हुन् ।

रूसी सेनाले रूसी सीमा नजिक उत्तरपूर्वी युक्रेनको खार्किभ सहर आक्रमण बढाएपछि बढ्दो तनावका बीच यो निर्णय लिएको दुई अमेरिकी अधिकारीहरूले जानकारी दिएका छन् । युक्रेनलाई रूसी सेना वा खार्किभ नजिकैको हमलाविरुद्ध संयुक्त राज्य अमेरिकाले आपूर्ति गरेको हतियार प्रयोग गर्न अनुमति दिइएको उनले बताए ।

“राष्ट्रपतिले भर्खरै आफ्नो टोलीलाई युक्रेनले खार्किभमा रूसी सेनाहरूमाथि प्रतिआक्रमणका लागि अमेरिकाले आपूर्ति गरेको हतियारहरू प्रयोग गर्न सक्षम छ भनेर सुनिश्चित गर्न निर्देशन दिनुभएको छ,” एक अमेरिकी अधिकारीले बताए ।

यो नीति अनुमति दिइएको क्षेत्र खार्किभमा कडाईका साथ सीमित रहेको अधिकारीले बताए । युक्रेनी अधिकारीहरूले यस क्षेत्रभन्दा बाहिर आक्रमणका लागि अमेरिकी हतियार प्रयोगको अनुमति मागेका छैनन् । रासस

Skip This