सभामुख अर्याल र अध्यक्ष याङ्गबिच शिष्टाचार भेट


काठमाडौँ । सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग चिनियाँ जनसङ्घका अध्यक्ष याङ्ग वानमिङ्गले शिष्टाचार भेट गरेका छन् । आज सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा उनले नेपाल र चीनबिच रहिआएको ऐतिहासिक, घनिष्ठ एवं मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउन जनस्तरको सम्बन्ध र सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिएका थिए ।

नेपाल–चीन सम्बन्ध पञ्चशीलका सिद्धान्त, पारस्परिक विश्वास, सम्मान र सहअस्तित्वमा आधारित रहेको उल्लेख गर्दै उनले नेपाल एक चीन नीतिप्रति दृढ रहेको र नेपाली भूमि चीनविरुद्ध कुनै पनि गतिविधिमा प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।

सभामुख अर्यालले दुई देशबिच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवले आपसी सम्बन्धलाई थप उचाइमा पुर्याउन महत्त्वपूर्ण योगदान गरेको बताउँदै शिक्षा, पर्यटन, संस्कृति, सूचना प्रविधि, कृषि तथा विपद् व्यवस्थापनलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्ने धारणा राखे ।

उनले नेपालका स्थानीय तह र चीनका सहर तथा प्रान्तबिच भगिनी सम्बन्ध विस्तार, सांसद तथा युवा नेतृत्वको आदानप्रदान र अनुभव साझेदारीलाई प्राथमिकता दिनुपर्ने बताए । साथै, जलवायु परिवर्तन, हिमनदी पग्लिने क्रम र हिमाली पारिस्थितिक प्रणाली संरक्षणमा दुवै देशबीच सहकार्य आवश्यक रहेको उनले बताए ।

सभामुख अर्यालले विपद्का समयमा चीन सरकार एवं सम्बद्ध संस्थाले नेपाललाई पुर्याउँदै आएको सहयोगप्रति आभार व्यक्त गरेका सभामुखको सचिवालयले जनाएको छ ।

सो भेटमा चिनियाँ जनसङ्घका अध्यक्ष याङ वानमिङले नेपाल–चीनबीचको परम्परागत मित्रता र जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउन आफ्नो संस्थाले निरन्तर भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले दुई देशका स्थानीय तह, सहर तथा समुदायबिच रहेको भगिनी सम्बन्धलाई थप विस्तार गरी द्विपक्षीय भ्रमणसहित आदानप्रदान कार्यक्रमसहित लाभान्वित हुनुपर्ने धारणा व्यक्त गर्नुभएको सभामुखको सचिवालयले जनाएको छ । रासस