काठमाडौं, २६ माघ । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमलाले देशको अर्थतन्त्र अहिले विचौलिया र माफियाको हातमा पुगेको आरोप लगाए । उनले अब मिडियाले अर्थतन्त्रको विषयमा निरन्तर बहस तथा पैरवी गर्नुपर्ने बेला भएको आवश्यकत्ता औंल्याए । आफूपनि यही विषयमा केन्द्रित भएर अघि बढ्ने धमलाको विश्वास छ ।
आम जनता पार्टीको उपत्यका विशेष कमिटीले ‘कर आतंक कहिलेसम्म ?’ शीर्षकमा आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको विशेष अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै धमलाले भने,‘मिडियाले अर्थतन्त्रबारे राम्रोसँग चिरफार गर्न सकेनौं । हाम्रो देशको अर्थतन्त्र विचौलिया र माफियाको कब्जामा गैसकेको छ । हामीले जसरी बहस गर्नुपर्ने थियो, त्यो गर्न सकेनौं । कर आतंकको बारेमा जसरी सही सूचना सम्प्रेषण गर्नुपर्ने थियो, हामीले अलिक कम गर्यौं कि भन्ने लाग्छ । हामीले बरु दलको गतिविधिलार्य अलिक बढि फोकस गर्यौं कि भन्ने लाग्छ । अहिले अदालतप्रति जनताको पूर्ण भरोसा र विश्वास पनि विस्तारै टुट्दै गएको छ । अर्को आशाको केन्द्र भनेको सञ्चार क्षेत्र हो, यसले पनि आफ्नो धर्म निर्वाह गरेन भने नेपालमा हरेक क्षेत्रमा ठूलो संकट आउनसक्छ ।’
उनले देश अहिले कर आतंकको मारमा परेको भन्दै सरकारप्रति आक्रोश पोखे । उनले भने,‘हाम्रो देशमा कर आतंक छ । सत्तामा बस्ने नेताहरुले लुटतन्त्र चलाइएराखेका छन् । उनीहरुले एकदमै लुटतन्त्र चलाईराखेका छन् । कुनैपनि पार्टी चोखो छैनन् । न नयाँ, न पूराना । नयाँले पनि कर आतंक अन्त्य गर्न सकेनन् । अहिले ठूलो मारमा त नेपाली जनता मात्रै परेका छन् । कर तिर्दातिर्दा जनता आजित भएका छन् । यहाँ उद्योगपति र व्यवसायीहरु व्यवसाय छोडेर जानुपर्ने अवस्था छ । तर, यही देशमा विचौलिया र माफियाले कर तिर्नुपर्दैन् । विचौलियाले रजाईं गरेका छन् । अर्थतन्त्र विचौलिया र माफियाको कब्जामा छ । उनीहहरुको सत्तामा पहुँच छ, हालिमुहाली छ । उनीहरुको कनेक्सन प्रधानमन्त्री, उद्योगमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीसँग छ । उनीहरुले आफूले कमाएको १०, २० प्रतिशत नेतालाई बुझाएपछि चोखा हुन्छन् । राज्य संयन्त्र नै माफियाको कब्जामा गैसक्यो । जनतालाई ठूलो पीडा छ । माफिया सम्पन्न बनिसके । पहुँच र प्रभावि बढिसक्यो । सोझासिधा जनताको बेहाल छ ।’
उनले कर आतंक बन्द नगरेसम्म आफूले मिडियामार्फत छेड्ने अभियान नराक्ने र प्रभाव साह नेतृत्वको आजपाको आन्दोलनलाई पनि साथ दिने प्रतिबद्धता जनाए । उनले भने,‘अब रेडियो, टिभी र क्लबमा कर आतंक बन्द गर्नको लागि बोल्नेछु । कर आतंक अन्त्य नभएसम्म देशमा विकास तिव्र गतिमा बढ्दैन । टेवुलमुनिबाट लिने प्रथा छ, जनताको पैसा लुट्ने समाजमा एउटा गिरोह छ, त्यसलाई तोड्नैपर्छ । म जनताको पक्षमा उभिनेछु । भ्रष्टाचार अन्त्यको कुरा एकादेशको कथा भएको छ । भ्रष्टाचार अन्त्य भएको छैन् । जनताले सुशासन देख्न पाएका छैनन् । डेलिभरीपनि पाएका छैनन् ।’
उनले नाकामा गरिव निमुखाले पाउने सास्तीको बारेमा उजागर गर्ने पनि सुनाए । उनले भने,‘सबै नाकामा जाऔं । झापादेखि कञ्चनपुरसम्मका बोर्डरमा जाउँ । हुम्लाको चिनियाँ नाकासम्म जाऔं । नाकामा कति तस्करी भैरहेको छ ? रक्सौल नाका, तातोपानी नाकामा जाऔं । तस्करी बन्द गराउनको लागि मिडियाले भूमिका खेल्नुपर्छ । नाकामा ठूलो आतंक छ । जनता पीडामा छन् । नाकामा पुलिसलाई घुस दिएन भने एउटा गरिव नागरिकले सामान ल्याउन सक्दैन । नून, तेल, लत्ताकपडा ल्याउनै सक्दैन् । ठूलाठूला गाडीहरुको लावालस्कर हुन्छ । म आगामी दिनमा यसबारेमा लगातार बहस गर्न चाहन्छु ।’




प्रतिक्रिया