सांसदद्वारा खोटाङ आगलागी र समसामयिक विषयमा सरकारको ध्यानाकर्षण


काठमाडौँ, ५ फागुन । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले खोटाङ हलेसी तुवाचुङ नगरपालिका–७ मा भएको आगलागी एवं समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद सरस्वती बजिमयले आइतबार भएको खोटाङको आगलागीमा पूजा सामग्री पसल र दोस्रो तल्लामा रहेको एक लघुवित्तको कार्यालयलगायतमा क्षति पुगेकाले पीडितलाई यथाशीघ्र राहत दिन माग गरिन् । आगलागीबाट हुनसक्ने ठूलो क्षतिबाट बचाउन सुरक्षाकर्मी, जनप्रतिनिधि र स्थानीयले योगदान गरेको पनि उनले सुनाइन् । सुरक्षाकर्मी, जनप्रतिनिधि र स्थानीयवासीले ग्यास सिलिन्डर बाहिर फालेका कारण आगो धेरैतिर फैलन नपाएको सांसद बजिमयले बताइन् ।

सांसद रघुजी पन्तले नेपाल दुई सदनात्मक संसदीय प्रणालीको अभ्यास गर्ने मुलुक भएको उल्लेख गर्दै एउटा सभाका एक सांसदले बोलेको विषयलाई अर्को सभाले खेद प्रस्ताव पारित गर्ने अभ्यास गलत भएको बताए । राष्ट्रियसभा वृद्धाश्रम नभई पाकाहरुको संसद् भएको उल्लेख गर्दै प्रतिनिधिसभाका सांसदविरुद्ध खेदप्रस्ताव पारित गरिनु दुःखद् भएको धारणा राखे ।

सांसद रामकुमार राईले खोटाङको आगलागीमा सात करोडको क्षति भएको, दुई घर जलेर नष्ट भएको सुनाए । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय तहका जनप्रतिनिधिले मिलेर आगलागी नियन्त्रण गरेको उनले जानकारी दिए । तत्काल आगलागी पीडितलाई क्षतिपूर्ति र राहतको व्यवस्था गर्न उनले माग गरे ।

सांसद अशोककुमार चौधरीले चार घण्टापछि मात्र खोटाङको आगो निभाउन सकिएकाले सबै जिल्लामा दमकलको व्यवस्था गर्न माग गरे । आगो निभाउनका लागि पूर्वतयारी गर्न पनि उनले सुझाव दिएको थियो । सांसद वीरेन्द्रप्रसाद महतोले बलात्कारका घटनामा पीडितले आत्महत्या गर्ने अवस्था आउँदा पनि पीडित कानुनी कारबाहीको दायरामा नआउनु दुःखद भएको बताए । सांसद सीताकुमारी रानाले दैलेखको पश्चिम क्षेत्रका केही विद्यालयमा तनावसँग सम्बन्धित रोग फैलिएकाले अन्तिम परीक्षा सुरु हुने बेलामा यस्तो रोगको समाधान गरिनुपर्नेमा जोड दिइन् ।

सांसद सूर्यबहादुर थापा क्षत्रीले आइतबार संसद्मा प्रश्नोत्तर सकेर प्रधानमन्त्री निस्कँदै गर्दा बाहिर बसेका पत्रकारले तपाईं हिटलरको बाटोमा हिँड्न खोजेको हो भनी सोध्नु जायज नभएको र पत्रकार आचारसंहिता विपरीत भएको बताए । संसद्बाट निर्वाचित प्रधानमन्त्री हिटलर हुन नसक्ने उहाँको भनाइ थियो । पत्रकारले आफूलाई पनि हनुमान हो भनी प्रश्न सोध्ने गरेको उनको गुनासो थियो ।

सांसद सम्झना थपलियाले सिराहाकी रिङ्कुकुमार सदालाई केही व्यक्तिले सामूहिक बलात्कार गरेपछि सहन नसकी आत्महत्या गर्नुपर्ने अवस्थामा लगेको र प्रहरी मौन रहेकोप्रति सरकारको ध्यानाकर्षण गराइन् । यस्ता अपराधमा संलग्न निर्धक्क हिँड्ने वातावरण नबनोस् भन्नेमा पनि उनले गृहप्रशासनसमक्ष आग्रह गरेकी थिइन् । रासस