काठमाडौं, फागुन ८ । आज चार वटा संसदीय समितिको बैठक बस्दै छ । आज अर्थ समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।
संघीय संसद सचिवालयका अनुसार अहिले बिहान ११ बजे सिंहदरवारमा बस्ने अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर संशोधनकर्ता सदस्यहरूसँग छलफल हुनेछ । ११ बजे नै बस्ने पूर्वाधार विकास समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल हुने संसद् सचिवालयले जनाएको छ ।
यस्तै, बिहान साढे ११ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा कृषि, पशुपन्छी विकास, वन तथा वातावरण मन्त्रालय अन्तर्गत सञ्चालनमा रहेका यूएसएआइडी सहायता लगायतका परियोजनाहरूको कार्यान्वयन अवस्था, सहायता बन्द हुँदा परेको प्रभाव तथा आगामी दिनमा यस्ता परियोजनाको निरन्तरताका सम्बन्धमा छलफल हुनेछ ।
त्यस्तै, आज दिउँसो साढे १ बजे बस्ने राष्ट्रिय सभा अन्तर्रगतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को प्रत्यायोजित विधायन सम्बन्धमा विज्ञहरुसँग छलफल गर्ने कार्यसूची रहेको छ ।




प्रतिक्रिया