काठमाडौँ । कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज यमराजको दूतका रुपमा कागलाई पूजासहित मीठामीठा चीज बीज खान दिएर मनाइएको छ ।
काग तिहार पर्वदेखि नै नेपालीको दोस्रो महान् चाड यमपञ्चक सुरु हुने भएपनि यस वर्ष तिथिको घटबढका कारण शुक्रबारदेखि नै यमपञ्चक आरम्भ भएको हो । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकासम्म नेपालीले दोस्रो ठूलो पर्वका रुपमा तिहार मनाउने गर्छन् ।
यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष सहप्रा डा पुरुषोत्तम भट्टराईले जानकारी दिए ।
कागले यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन मीठामीठा खान दिइ खुसी पार्ने गरिएको पनि उनले बताए। लोक व्यवहारमा काग घरमा आइ कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने प्रचलनसमेत छ । काग घर वरपर आइ कराएमा उसले केही खबर लिएर आएको विश्वास गरिन्छ ।
‘काकेन दधि भक्षितम्’ अर्थात् कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराज समक्ष राम्रो सन्देश लगिदिन्छ भन्ने मान्यता छ ।
दुष्कर्म गर्नेलाई यमराज भएर दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराज भएर रक्षा गर्ने विश्वाससित पनि तिहार पर्व गासिएको छ । यम यातनाबाट मुक्तिका लागि परिवारका सबै सदस्यका नाममा यम दीप दान दिनेक्रम आज साँझ पनि जारी रहन्छ । यम दीप दान दक्षिण फर्काएर गर्नुपर्ने वैदिक सनातन हिन्दू धार्मिक विधि छ ।
कार्तिक कृष्ण त्रयोदशीमा सूर्योदय भएको आज कागलाई पूजासहित मीठामीठा चीजबीज खान दिएर सम्मान गरिएको छ । यमपञ्चक अर्थात् तिहारको पहिलो दिन नै काग तिहार पर्व मनाइने गरेकामा तिथिको घटबढका कारण यस वर्ष शुक्रबारदेखि यमपञ्चक सुरु भएकामा आज दोस्रो दिन काग तिहार पर्व पर्न गएको हो ।
यस अवसरमा आज कागेश्वरी मनोहरा नगरापलिका–१ स्थित कागेश्वरी मन्दिर, पशुपति क्षेत्र र वसन्तपुर दरबार क्षेत्रमा रहेका कागेश्वरी मन्दिरमा पनि बिहानै पूजा, आराधना एवं दर्शनका लागि भक्तजनको घुइँचो बढेको थियो ।




प्रतिक्रिया