एमाले मोरङ अधिवेशनः ओलीको सन्देशलाई चुनौती दिँदै प्रदेशमा ब्यहोरेको हारको बदला लिने दाउमा ढकाल, अध्यक्षमा ओझा र राई भिड्ने

ओली र पूर्व राष्ट्रपति भण्डारीको नाममा भिड्दैछन् जिसस प्रमुखसँग पूर्व मन्त्री


काठमाडौं । शनिबारबाट सुरु भएको सत्तारुढ दल नेकपा एमाले मोरङ जिल्ला कमिटीको १० औं अधिवेशनको आज बन्दसत्र सुचारु हुँदैछ । बिहान ८: ३० बजेपछि बन्दसत्र सुरु हुने एमालेले जनाएको छ ।

अधिवेशनमा ९१० जना प्रतिनिधि सहभागी छन् । १ अध्यक्षसहित ५ जना पदाधिकारी र १६५ सदस्यीय जिल्ला कमिटी चयन गर्नेछ । गत वर्षनै हुनुपर्ने एमाले जिल्ला अधिवेशन प्रतिनिधि छनोट लगायतका कारण हुन सकेको छैन् । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने चनिएपनि ओलीको कार्य व्यस्थताका कारण अधिवेशन उपाध्यक्ष रामबहादुर थापा बादल तथा उपमहासचिव प्रदीप ज्ञवालीलगायतले उद्घाटन गरेका थिए ।

अधिवेशन उद्घाटनका लागि पुगेका उपाध्यक्ष बादलले आफूले प्रधानमन्त्रीको सन्देश बोलेको भन्दै सर्वासम्मत नेतृत्व चयन गर्न निर्देशन दिएका छन् । ‘अध्यक्षको सन्देश लिएर यहाँ आएको छु’, उद्घाटन सत्रलाई सम्बोधन गर्दै थापाले भने, ‘प्यानलको रुपमा उम्मेदवार खडा गरे गुटबन्दी गर्ने छुट कसैलाई छैन ।’

उपाध्यक्ष थापाले सर्वसम्मत नेतृत्व चयन गर्न भनेपनि जिल्लामा स्प्रष्ट रुपमा दुई वटा गुट देखिएको छ । प्रदेश अध्यक्ष घनश्याम खतिवडा र अर्का नेता विनाद ढकालले आ आफ्नो गुटको नेतृत्व गरेका छन् । ढकाल गत प्रदेश अधिवेशनमाअध्यक्षमा खतिवडासँग पराजित भएका थिए ।

कुनै बेला अध्यक्ष ओलीको अत्यन्त निकट नेता मानिने ढकाल हाल ओली पक्षबाट किनाराकृत बनेका छन् । ओलीको पेलानमा परेका ढकालले अहिले जिल्लामा संस्थापन इतर समूहको नेतृत्व गरिरहेका छन् । उनले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी गुटको नेतृत्व गरिरहेको नेताहरु बताउँछन् ।

प्रदेश अध्यक्षमा हारेका ढकालको शक्ति जाँच्ने मौकाका रूपमा मोरङको अधिवेशनलाई लिईरहँदा हालसम्म जिल्ला अध्यक्षमा राजकुमार ओझा र अजम्बर राईले प्रतिस्पर्धा गर्ने निश्चित जस्तै बनेको छ । कोशी प्रदेशका पूर्व सांसद तथा पूर्व राज्यमन्त्री ओझा संस्थापन र मोरङ जिल्ला समन्वय समितिका प्रमुख राई इतर समूहको रुपमा मैदानमा उत्रिँदैछन् । ढकालले राईलाई च्याप्दा प्रदेश अध्यक्ष खतिवडा, कोशीका मुख्यमन्त्री हिक्मत कार्की, पूर्व मुख्यमन्त्री शेरधन राई, भीम आचार्यलगायतले ओझालाई समर्थन गरेका छन् ।

संस्थापनबाट उम्मेदवार बन्न लागेका ओझाले उपाध्यक्षमा शान्ति भुजेल, सचिवमा रविन थापालाई अघि सार्ने तयारी गरेको छ भने दुर्य उपसचिवको उम्मेदवार टुंगिन बाँकी छ । यता राईको प्यानलबाट उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा तथा उपसचिवमा उषा झा र सन्तोष बान्तवालाई अघि सार्ने तयारी छ । उषा जिसस उपप्रमुख हुन् ।

कोशीका सबै जिल्लामा अधिवेशन भइसक्दा पनि मोरङमा भने अधिवेशन हुन सकेको छैन । मोरङको अधिवेशनलाई आफ्ना शक्ति देखाउने मौकामा रूपमा हेर्दै ढकालसहितका उनी पक्षका नेताहरू जसरी पनि मोरङमा पार्टी नेतृत्व हात पार्ने ध्येयमा छन् ।