फोहर पानी सफा गर्ने नमूना परियोजना सञ्चालन


तानसेन (पाल्पा), १८ फागुन । बस्तीबाट निस्किएको ढल सिधैँ सडक तथा नदीखोलामा पुर्‍याइनुको सट्टा प्रशोधन गरेर सफा पानी उपयोग गर्नेगरी पाल्पामा नमूना परियोजना सञ्चालनमा आएको छ ।

जिल्लाको सामाजिक क्षेत्रमा क्रियाशील रोटरी क्लब अफ तानसेनले खेर गइरहेको फोहर पानी प्रशोधन गरी थप प्रयोगमा ल्याउन ‘फोहर पानी उपचार युएमएच परियोजना’ सञ्चालनमा ल्याएको हो ।

रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ भुटानको ग्लोबल ग्राउन्ड फन्टअन्तर्गत क्लबले करिब चार करोड २२ लाख लागतमा उक्त परियोजना निर्माण गरेको हो । क्लबले उक्त परियोजना निर्माण गरी युनाइटेड मिसन अस्पताललाई हस्तान्तरण गरेको छ ।

निर्मित परियोजना रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ नेपाल भुटानका निवर्तमान गभर्नर राजेन्द्रमान ध्वजु, क्लबको तानसेनका अध्यक्ष भीमबहादुर श्रेष्ठ, रोटरी इन्टरनेशनलका प्रतिनिधि एन व्रिट, इञ्जिनियर एट आर्मरलगायतले अस्पताललाई एक कार्यक्रमकाबीच उक्त परियोजना हस्तान्तरण गरेका हुन् ।

तानसेन नगरपालिका–१ मिसनस्थित नर्सिङ स्कुल नजिकैको खाली जग्गामा फोहर पानी उपचार सयन्त्रको संरचना निर्माण गरिएको छ । जहाँ मिसन अस्पताल क्षेत्रका करिब तीन सय बढी घर तथा होटल र तानसेन नर्सिङ कलेजबाट निस्किने फोहर पानीको व्यवस्थापन गरिने छ । यहाँ भूूसलडाँडा क्षेत्रबाट आएको फोहर पानी र अस्पताल क्षेत्रबाट आएको फोहरको छुट्टाछुट्टै पाइप लाइनसँगै सेप्टी तथा सफा पानी ट्याङ्की निर्माण गरिएको छ । सोही स्थानमा प्रशोधन उपकरण जडान गरिएको छ ।

रोटरी इन्टरनेशनलको आर्थिक सहयोग रहे पनि परियोजना सम्पन्न गर्न युनाइटेड मिसन अस्पताललगायत अन्य संस्थाले पनि क्लबलाई सहयोग गरेका छन् । रोटरी इन्टरनेशनलको सहयोगसँगै जिल्लाका सम्पूर्ण सरोकार भएका निकायको सहयोगका कारण परियोजना सम्पन्न गरिएको क्लबका अध्यक्ष श्रेष्ठले बताए ।

अस्पतालबाट निस्किएको फोहरयुक्त पानी र घरायसी प्रयोगपछि निस्किएको पानीलाई प्रशोधन गरी पुनःप्रयोग गर्न प्रदूषित पानी उपचार संयन्त्र निर्माण गरिएको उनको भनाइ छ ।

अध्यक्ष श्रेष्ठले भने, “हामीले खेर गइरहेको फोहर पानीलाई प्रशोधन गरेर फेरी त्यसलाई उपयोग गर्न सकिन्छ भन्ने लागेर रोटरी इन्टरनेशनलको सहयोगमा दुई वर्ष अगाडि परियोजना अगाडि बढाएका थियौँ, आज सबैको सहयोगले उक्त परियोजना सम्पन्न गरी अस्पतालाई हस्तान्तरण गरेका छौँ ।”

रोटरीको एक सय २० वर्ष पूरा भएको अवसरमा नवनिर्मत परियोजनाको संरचना अस्पताललाई हस्तान्तरण गरिएको कार्यक्रम संयोजक तथा क्लबका उपाध्यक्ष बङ्कीनचन्द्र खनालले बताए । उनले भने, “हामीले करिब रु चार करोड २२ लाखको लागतमा यो परियोजना तयार पारेका हौँ ।”

कार्यक्रममा सहभागीहरूले क्लबले जिल्लामा नमूना परियोजना सञ्चालन गरेकोमा प्रशंसा गरेका थिए । रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ नेपाल भुटानका निवर्तमान गभर्नर रोटरियन राजेन्द्रमान ध्वजुले क्लब तानसेनले इमान्दारितापूर्ण समयमा परियोजना सफल बनाएको भन्दै आभार व्यक्त गरे । उनले यस ठाउँको आवश्यकता महसुस गरी क्लबले सक्रियता देखाएकाले यहाँ परियोजना सञ्चालन गर्न रोटरी इन्टरनेशनल तयार भएको उल्लेख गरे ।

युनाइटेड मिसन अस्पतालकी निर्देशक डा रचेल कारखले क्लबले अस्पताललाई परियोजना हस्तान्तरण गरेकामा धन्यवाद दिँर्दै परियोजनाको सही उपयोग गर्ने बताए । रोटरी इन्टरनेशनलका प्रतिनिधि एन व्रिट, इञ्जिनीयर एट आर्मर, नेपाली कांग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का केन्द्रीय सदस्य अनिल किशोर घिमिरे, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष विशाल दर्लामी, पाल्पा व्यापार सङ्घका अध्यक्ष विष्णु कार्की, नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष कमलराज तिमिल्सेना, क्लबका संस्थापक अध्यक्ष छत्रराज शाक्यलगायतले क्लबले जिल्लामा नमूना काम गरेको भन्दै अन्य सङ्घ संस्थाले पनि यस्तो कामको अनुसरण गर्नुपर्नेमा जोड दिएको थियो । रासस