एमाले मोरङ अधिवेशन: निर्वाचन तालिका सार्वजनिक, प्रधानमन्त्री र पूर्व राष्ट्रपतिका आ-आफ्नै उम्मेदवार


काठमाडौं । शनिबारबाट सुरु भएको सत्तारुढ दल नेकपा एमाले मोरङ जिल्ला कमिटीको १० औं अधिवेशन अन्तर्गत निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । आइतबार साँझ निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गरेको हो ।

तालिका अनुसार, सोमबार बिहान ८ बजेबाट निर्वाचन प्रक्रिया प्रारम्भ भइसकेको छ ।तर, मनोनीत गरिएका ४६ जना अधिवेशन प्रतिनिधिको नामावलीको विषयमा कुरा नमिल्दा प्रक्रिया आरम्भमा बिलम्ब भएको नेताहरुले बताएका छन् ।

निर्वाचन समितिले सार्वजनिक गरेको तालिका अनुसार सोमबार बिहान १० बजेपछि मनोनयन दर्ता गर्ने र दिउँसो २ः४५ बजेदेखि ५ बजेसम्म नयाँ नेतृत्वका लागि मतदान गर्ने कार्यसूची छ । मतदान गणना भने एमाले जिल्ला कार्यालय पाञ्चनालीको भवनमा हुने तय भएको छ ।

अधिवेशनमा ९१४ जना प्रतिनिधि सहभागी छन् । १ अध्यक्षसहित ५ जना पदाधिकारी र १६५ सदस्यीय जिल्ला कमिटी चयन गर्नेछ । गत वर्षनै हुनुपर्ने एमाले जिल्ला अधिवेशन प्रतिनिधि छनोट लगायतका कारण हुन सकेको छैन् ।

नेतृत्वमा प्यानल खडा

जिल्ला अधिवेशन उद्घाटनका क्रममा केन्द्रबाट गएका शीर्ष नेताहरुले सर्वसम्मत नेतृत्व चयनका लागि निर्देशन दिएका थिए । केन्द्रीय नेताहरुले सर्वसम्मत नेतृत्व चयन गर्न भनेपनि जिल्लामा स्प्रष्ट रुपमा दुई वटा गुट देखिएको छ । प्रदेश अध्यक्ष घनश्याम खतिवडा र अर्का नेता विनाद ढकालले आ आफ्नो गुटको नेतृत्व गरेका छन् । ढकाल गत प्रदेश अधिवेशनमाअध्यक्षमा खतिवडासँग पराजित भएका थिए ।

कुनै बेला अध्यक्ष ओलीको अत्यन्त निकट नेता मानिने ढकाल हाल ओली पक्षबाट किनाराकृत बनेका छन् । ओलीको पेलानमा परेका ढकालले अहिले जिल्लामा संस्थापन इतर समूहको नेतृत्व गरिरहेका छन् । उनले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी गुटको नेतृत्व गरिरहेको नेताहरु बताउँछन् ।

प्रदेश अध्यक्षमा हारेका ढकालको शक्ति जाँच्ने मौकाका रूपमा मोरङको अधिवेशनलाई लिईरहँदा हालसम्म जिल्ला अध्यक्षमा राजकुमार ओझा र अजम्बर राईले उम्मेदवार दिँदैछन् । ओझा र राई दुवै आइतबारबाटै मत माग्न व्यस्त छन् ।

कोशी प्रदेशका पूर्व सांसद तथा पूर्व राज्यमन्त्री ओझा संस्थापन र मोरङ जिल्ला समन्वय समितिका प्रमुख राई इतर समूहको रुपमा मैदानमा उत्रिन लागेका हुन् । ढकालले राईलाई च्याप्दा प्रदेश अध्यक्ष खतिवडा, कोशीका मुख्यमन्त्री हिक्मत कार्की, पूर्व मुख्यमन्त्री शेरधन राई, भीम आचार्यलगायतले ओझालाई समर्थन गरेका छन् ।

ओझाले उपाध्यक्षमा शान्ति भुजेल, सचिवमा रविन थापालाई अघि सार्ने तयारी गरेको छ भने दुई उपसचिवको उम्मेदवार टुंगिन बाँकी छ । यद्यपि संस्थापनबाट उपाध्यक्षमा विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीलाई उम्मेदवार बनाउन केन्द्रबाट निर्देशन आएको केही नेताहरु बताउँछन् । संस्थापनबाट शान्ति र शिल्पा दुवैको नाममा छलफल चलिरहेको छ। शान्ति केराबारी गाउँपालिकाकी पूर्व उपाध्यक्ष हुन् ।

यता राईको प्यानलबाट उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा तथा उपसचिवमा उषा झा र सन्तोष बान्तवालाई अघि सार्ने तयारी छ । उषा जिसस उपप्रमुख हुन् ।कोशीका सबै जिल्लामा अधिवेशन भइसक्दा पनि मोरङमा भने अधिवेशन हुन सकेको छैन । मोरङको अधिवेशनलाई आफ्ना शक्ति देखाउने मौकामा रूपमा हेर्दै ढकालसहितका उनी पक्षका नेताहरू जसरी पनि मोरङमा पार्टी नेतृत्व हात पार्ने ध्येयमा छन् ।

दृश्यमा ढकाल र खतिवडाबीच प्रतिस्पर्धा देखिएपनि पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको लागि पनि प्रतिष्ठाको विषय बनेको छ । ओलीको गृह प्रदेशको महत्वपूर्ण जिल्ला मोरङ पूर्व राष्ट्रपति भण्डारीको राजनीतिक थालनीको केन्द्र र जननेता मदन भण्डारीको क्षेत्र पनि हो ।