राजावादीको प्रदर्शनमा भारतीय मुख्यमन्त्री योगी आदित्यनाथको फोटो, पोल खुलेपछि ज्ञानेन्द्रले लगाए एमालेलाई दोष

शाहीलाई रिमालको जवाफ: पोल खुलेपछि ‘खाल’ जोगाउन हर्कत


काठमाडौं । आइतबार पूर्व राजा ज्ञानेन्द्र शाहको स्वागतका लागि राप्रपा लगायतका राजावादी शक्तिले गरेको शक्ति प्रदर्शनमा भारतीय नेता तथा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बीर प्रयोग गरेको पोल नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले खोलेपछि राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाही एमालेमाथि खनिएका छन् ।

आइतबार राप्रपाको प्रदर्शनमा राप्रपाका पूर्व कार्यकर्ता रहेका एक व्यक्तिले आदित्यनाथको तस्बिरसहितको ब्यानर प्रयोग गरेका थिए । यो कुरा सबैभन्दा पहिले एमालेका नेता तथा प्रधानमन्त्ती केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार रिमालले सार्वजनिक गर्दै प्रशन उठाएका थिए । तर, सोमबारबिहानै शाहीले प्रधानमन्त्री र एमालेको निर्देशनमा सो तस्बिर प्रयोग भएको आरोप लगाएका छन् ।

सांसदसमेत रहेका शाहीले सोमबार बिहान फेसबुकमा लेखेका छन्, ‘हिजो राजाको स्वागतमा भारतका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो स्वयम् प्रधानमन्त्री केपी ओलीज्यूको निर्देशनमा प्रधानमन्त्रीज्यूका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले राख्न लगाइएको पाइएको छ। नेपाली राष्ट्रिय झन्डासहितको स्वागत कार्यक्रमलाई असर पार्नको लागि यस्ता कुकर्म गर्न थालेछन छि छि। विदेशीको एजेन्डामा र सिद्धान्तनमा पार्टी चलाउनेहरूले ठूलो कुरा गरेको देख्दा अचम्म लाग्छ ! माक्स ,लेलिन, माओ कुन देशका हुन्र’

शाहीको उक्त आरोपपछि रिमालले पनि खण्डन गर्दै पोल खुलेपछि ‘खाल’ जोगाउन हर्कत गरेको टिप्पणी गरेका छन् ।‘पोल खुल्ने डरमा हत्तपत्त अर्काको गालामा बियाँ टाँसी कुलेलम ठोक्छन्, रिमालले लेखेका छन्, ‘पहिले दलाली गर्छन्, दलालीको पोल खुलेपछि ‘खाल’ जोगाउन त्यस्तै हर्कत गर्छन्।’

एमाले उपमहासचिव रिमालले अगाडि लेखेका छन्,‘डिसइन्फरमेसनको सहारामा एक्सिडेन्ट्ली मर्यादित स्थानमा पुगेका अयोग्यहरूबाट फैलाइने भ्रम यस्तै हो। यी मानिस कति द्विविधामा भ्रमको खेती गर्दै थिए भन्ने कुरा एउटै स्ट्याटस ५-५ चोटि एडिट गरेको हिस्ट्रीले आफैँ बताउँछ। मलाई यस्ता नालायकहरूसँग सवालजवाफ गर्नु छैन। कसले कहाँ के गर्दै छ- समाचार त आएकै छ नि !’