ट्रम्प-पुटिन वार्ता: ३० दिनको युद्धविराममा सहमति, युक्रेनको प्रतिक्रिया अनिश्चित


काठमाडौं, चैत ६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच युक्रेन युद्धबारे दुई घण्टाभन्दा बढी टेलिफोन वार्ता भएको छ ।

वार्तामा ३० दिनका लागि युक्रेनको ऊर्जा तथा पूर्वाधारमाथि आक्रमण रोक्ने सहमति भएको ह्वाइट हाउसले जनाएको छ । यो सम्झौताले शान्ति स्थापनाको पहिलो चरणको संकेत गरे पनि युक्रेनले यस योजनामा साथ दिन्छ वा दिँदैन भन्ने अझै स्पष्ट भएको छैन ।

पुटिनले शान्ति वार्ताका लागि युक्रेनलाई विदेशी सैन्य सहायता पूर्ण रूपमा रोक्नुपर्ने शर्त अघि सारेका छन् । जबकि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पुटिनको प्रस्तावलाई ‘मात्रै कुरा गर्ने’ प्रयास भएको बताएका छन् । ट्रम्पले रूससँग ‘केही सम्पत्ति बाँडफाँट’ को विषयमा कुराकानी भइरहेको संकेत गरेपछि युरोपेली राष्ट्रहरू चिन्तित भएका छन् ।

वार्तापछि ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा वार्ता ‘महत्वपूर्ण चरणमा पुगेको’ बताएका छन् । तर अझै धेरै विषयहरू टुंग्याउन बाँकी रहेको उल्लेख गरेका छन् । उता, पुटिनले आफ्नो सेना युक्रेनी भूभागमा निरन्तर अघि बढिरहेको दाबी गर्दै नेटो सेनालाई कुनै पनि हालतमा युक्रेनमा तैनाथ हुन नदिने अडान दोहोर्‍याएका छन्।