काठमाडौं, १७ चैत । नागरिक समाजका अगुवा डा.सुन्दरमणि दीक्षितले पूर्वराजा ज्ञानेन्द्रको भयङ्कर गल्तीको कारण तीनकुनेको हिंसात्मक घटना भएको बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले एयरपोर्टको जुलुस देख्नेबित्तिकै ज्ञानेन्द्र के–के न भएँ भनेर हतार गर्न खोज्दा दुर्घटना भएको बताए । उनले राजवादी समूहको उक्त हिंसात्मक आन्दोलनलाई ‘मुर्खता’ को संज्ञा दिए ।
‘सबैभन्दा ठूलो भयङ्क गल्ती, गर्न नहुने गल्ती निर्मल निवासले गरेको हो । ज्ञानेन्द्रले काम न काजसँग हतार गरे । एयरपोर्टको जुलुस देख्नेबित्तिकै म के–के भन भएँ भने । अहिले समय भएकै थिएन । यसपाली ज्ञानेन्द्रले गर्नै नहुने काम गरेर मुर्खता गरे,’– उनले भने ।
राजावादी समूहका ‘जनकमाण्डर’ तोकिएका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँले आह्वान गरेको सो आन्दोलनमा एक जना पत्रकारसहित २ जनाको मृत्यु भएको थियो । आन्दोलनका क्रममा नेपाल प्रहरीतर्फ ५३, सशस्त्र प्रहरीतर्फ २२ र ३५ जना प्रदर्शनकारी घाइते भएका थिए । प्रदर्शनकारीहरुले ठूलो मात्रामा तोडफोड, आगजनी र लुटपाट मच्चाएका थिए ।




प्रतिक्रिया