नेपालको प्रजातान्त्रिक आन्दोलन र मूल्य, मान्यता स्थापित गर्न रिपोर्टर्स क्लबको सबैभन्दा ठूलो योगदान छः कांग्रेस नेता भण्डारी


काठमाडौं, १७ चैत । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा.चन्दकान्त भण्डारीले रिपोर्टर्स क्लबको नेपालले प्रजातान्त्रिक आन्दोलन र त्यसपछि खेलेको भूमिका अग्रणी रहेको बताएका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दैै उनले प्रजातान्त्रिक मूल्य, मान्यता प्राप्त गर्नका निम्ति नेपाल सञ्चार जगतले खेलेको भूमिकामा रिपोर्टर्स क्लबको योगदान महत्वपूर्ण रहेको बताएका हुन् ।

‘रिपोर्टर्स क्लबको नेपालको प्रजातान्त्रिक आन्दोलनमा कोठादेखि सडकसम्म विचारको प्रवाह गरेर नेपालमा प्रजातान्त्रिक मूल्य र मान्यता प्राप्त गर्नका निम्ति सबैभन्दा ठूलो योगदान छ । त्यतिामात्रै होइन, रिपोर्टर्स क्लबले प्रजातन्त्र प्राप्तिपछि आर्थिक सामाजिक राजनीतिक विभिन्न कुराहरुमा बहस चलाएको छ । नेपालको सञ्चार जगतले खेलेको भूमिकामा रिपोर्टर्स क्लब अग्रपंत्तिमा छ,’– नेता भण्डारीले भने ।

देशभरिका पत्रकारहरुको सञ्जाल रिपोर्टर्स क्लब नेपालको २६ औं बर्ष पूरा गरी आजदेखि २७ औं वर्षमा प्रवेश गरेको छ । क्लबको बार्षिकोत्सवको अवसरमा आज सम्मान तथा पुरस्कार वितरण तथा स्मारिका विमोचनको कार्यक्रम राखिएको छ । प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहमा दिउँसो २ बजे हुने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख अतिथ्यता रहने छ ।

स्थापना दिवसको अवसरमा प्रधानमन्त्री ओली र क्लबका सभापति ऋषि धमलाले विभिन्न बिधामा कलम चलाउने पत्रकारलाई पुरस्कारसहित सम्मान गर्ने कार्यक्रम रहेको छ । समारोहमा विभिन्न दलका नेता, सांसदहरु, कुटनीतिज्ञहरु र नागरिक समाजका अगुवाहरुको उपस्थिति रहनेछ । क्लबको उद्घाटन २०५४ साल चैत्र १७ गते नेपाली कांग्रेसका संस्थापक नेता कृष्ण प्रसाद भट्टराईले गरेका थिए । File Photo/RN