राजा, रैती जो भएपनि तीनकुने घटनाका दोषीलाई कानुनी कठघरामा उभ्याइनुपर्छः प्रवक्ता मनिष सुमन


काठमाडौं, १७ चैत । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रवक्ता मनिष सुमनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जनता मेरो पक्षमा छन् भन्ने भ्रमको कारण गत शुक्रबार तीनकुनेमा हिंसात्मक आन्दोलन भएको बताएका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आन्दोलनमा मृत्यु भएका दुई जना व्यक्तिको बारेमा पूर्वराजा ज्ञानेन्द्रले एक शब्द पनि बोल्न नसक्नुले उनी कातर रहेको पुष्टि गर्ने बताए ।

‘पूर्वराजालाई सबै जना मेरो पक्षमा छन् भन्ने भ्रम परेको छ । तर, तीन दिन भयो, उनैका खातिर साहदत दिएका सविन महर्जन, पत्रकार रजक , यिनीहरुको बारेमा एक लाइन बोल्न नसक्नृे । यस्ता कातरहरुको पक्षमा जनता छैनन्,’– उनले भने ।

एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवामाथि जनतामा वितृष्णा रहेको पनि उनले बताए । तर, लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र नै हुने उनले बताए । नेता सुमनले केही मानिसहरु भ्रममा परेर यो व्यवस्था भन्दा राजतन्त्र नै ठीक भन्ने भ्रममा परे पनि गत चैत १५ गतेको निकृष्ट र गुण्डागर्दी शैलीबाट तिनीहरु सचेत भइसकेको बताए ।

साथै, सो आन्दोलनका कमाण्डर रहेका द्ुर्गा प्रसाईँलाई उनले आपराधिक गतिविधि गर्ने व्यक्तिको संज्ञा दिए । उनले प्रसाईँलाई निकृष्ट व्यक्तिको संज्ञा दिए । ‘राजा हुन् कि रैती हुन् ? आम नागरिक सरह तिनीहरुमाथि मुद्दा चलाइनुपर्छ । थारू आन्दोलन हुँदा रेशम चौधरी घटनास्थलमा थियो ? थिएन । तर, रेशम चौधरीमाथि मुद्दा लगाइएको थियो नि । अब कुनै शाहको छोरा, ठकु्रीको छोरालाई मुद्दा नचलाउने कुरा हुँदैन । कानुनी कठघरामा उभ्याइनुपर्छ,’– उनले भने ।