पत्रकारिताले सम्झौता गर्नुपरेको दिन लोकतन्त्र रहँदैन, त्यसैका लागि ऋषि धमलाजस्ता व्यक्तिलाई बचाइराख्नुपर्छः वरिष्ठ अधिक्ता घिमिरे


काठमाडौं, १७ चैत । नेपाल बार एशोसिएशनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले पत्रकारिताले सम्झौता गर्नुपरेको खण्डमा लोकतन्त्र नरहने बताएका छन् । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालको २७औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले सम्झौता गर्नुपर्ने र एकतर्फ ढल्किएर पत्रकारिता गर्नुपर्ने दिन आएको खण्डमा देशमा लोकतन्त्र रहेको अनुभूति गर्न नसकिने बताएका हुन् । उनले स्वतन्त्र र निश्पक्ष पत्रकारिताका लागि ऋषि धमलाजस्ता व्यक्तिलाई बचाइराख्नुपर्ने बताए ।

‘यदि पत्रकारिताले कम्पर्माइज गर्नुपर्यो भने, एकतर्फ ढल्कनुपर्ने गरी पत्रकारिता गर्ने दिन आयो भने हामीले सम्झनुपर्छ लोकतन्त्र रहेन । हामीले त्यसैका लागि ऋषि धमलाजस्ता व्यक्तिmलाई बचाइराख्नुपर्छ,’– उनले भने ।

साथै, गत शुक्रबार तीनकुनेमा राजावादीहरुको प्रदर्शनमा भएको हिंसात्मक घटनालाई लिएर उनले उश्रृङ्खलता र अराजकतालाई लोकतन्त्र भन्न नसकिने बताए । लोकतन्त्रमा सबै व्यत्तिललाई आफ्नो विचार राख्ने स्वतन्त्रता भएपनि सर्वसाधारण व्यत्तिलको सम्पत्तिमाथि तोडफोड गर्ने, मानिसलाई जिउँदै जलाउने जस्ता गतिविधि अराजकताको पराकाष्ट रहेको उनको भनाइ छ ।

‘लोकतन्त्रमा सबै जनताको अधिकार सुनिश्चित हुने मौका हरेक नागरिकले पाउनुपर्छ । लोकतन्त्र उश्रृङ्खलता होइन, अराजकताले ठाउँ लियो भने त्यसलाई लोकन्त्र भन्न सकिँदैन । लोकतान्त्रिक व्यवस्थामा प्रत्येक व्यक्तिलाई बोल्ने अधिकार छ । तर, सर्वसाधारण व्यक्तिको सम्पत्ति तोडफोड गर्ने, व्यक्तिलाई जिउँदै जलाइदिने त्यो भनेको अराजकता हो । यो अराजकतातर्फ मुलुक गयो भने फेरि लोकतन्त्र सुदृढ हुन सक्दैन,’– उनले भने ।

नेपाल बारले कानुनको शासन, मानव अधिकार, लोकतन्त्र र स्वतन्त्र न्यायपालिकालाई अच्छुन्न राख्न निरन्तर रूपमा खबरदारी गरिराखेको उनले बताए । वरिष्ठ अधिवक्ता घिमिरेले वार्षिकोत्सवको अवसरमा रिपोर्टर्स क्लबलाई शुभकामना सन्देश व्यक्त गरे ।