तीनकुनेको हिंसात्मक प्रदर्शन पूर्वराजा ज्ञानेन्द्रको योजनामा भएको हो, उनलाई ज्यान मारेकोसहित ५ वटा मुद्दा लाग्छः माओवादी नेता बिडारी


काठमाडौं, १८ चैत । नेकपा (माओवादी केन्द्र) का नेता एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले गत चैत १५ गतेको हिंसात्मक प्रदर्शन पूर्वराजा ज्ञानेन्द्र शाहको योजनामा भएको दाबी गरेका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दे उनले पूर्वराजा ज्ञानेन्द्रको योजनामा पत्रकार, सञ्चार गृह र राजनीतिक दलको कार्यालयमा जानी, सोचीबुझी योजनावद्ध ढंगले गरिएको बताएका हुन् ।

‘अहिलेको राजतन्त्र फर्काउने आन्दोलन कसको आह्वानमा भएको हो ? प्रजातन्त्र दिवसको दिन ज्ञानेन्द्रले अलिकति उक्साए । यो आन्दोलन सफल भयो भने गद्दीमा बस्ने को ? ज्ञानेन्द्र । अनि भगौडा दुर्गा प्रसाईँ राजतन्त्रका मतियारहरुको नेता । ज्ञानेन्द्र आफैंले दुर्गा प्रसाईँलाई जनकमाण्डर घोषणा गरे, नवराज सुवेदीलाई संयोजक बनाए । अनि अब यसमा सबै डिजाइन गर्ने काम, यसलाई मास्टर माइन्ड भन्छन् । ज्ञानेन्द्रको सहमति र स्वीकृतिमा १५ गतेको हुलगङ्गा भयो । त्यो मास भड्किएको होइन । ती मतियारहरुलाई पहिला नै डफा बनाएका थिए । २५÷२५ जनाको डफा बनाएका थिए । पत्रकारलाई चुकुल लगाएर आगो लगाइदिए । उनीहरुलाई असाध्यै रिस उठ्ने ठाउँ राजनीतिक दल । माओवादी, एमाले र समाजवादीकोमा कार्यालयमा एकैचोटी आक्रमण गर्न पुगे । माओवादी र एमालेको नसकेर छाडे,’– उनले भने ।

उनले उक्त हिंसात्मक प्रदर्शनको सन्दर्भमा पूर्वराजालाई पनि मुद्दा लाग्ने बताए । तर, सरकारले मुद्दा लगाउँछ कि लगाउँदैमा भन्ने कुरामा आफू विश्वस्त नरहेको उनले बताए । ‘पूर्वराजालाई पनि मुद्दा लाग्छ । सरकारले लगाउँछ कि लगाउँदैन ? त्यो सरकारले जान्ने कुरा भयो । तर, ज्यान मारेकोमा पनि लाग्छ, आगजनीमा पनि लाग्छ, तोडफोडमा पनि लाग्छ । राज्य विप्लव, राजद्रोहमा पनि लाग्छ,’– उनले भने ।