प्रचण्डले उठाए वामपन्थी एकताको कुरा


काठमाडौं, २६ चैत्र । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वामपन्थी एकताको प्रयासलाई जारी राख्ने बताएका छन् । आफ्नै निवास खुमलटारमा आज (मंगलबार) प्रगतिशील लेखक संघको १३औं राष्ट्रिय सम्मेलनबाट निर्वाचित पदाधिकारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिने क्रममा उनले यस्तो बताएका हुन् ।

यसअघिपनि कम्युनिष्टहरुबीच एकता भएको र असफल भएको स्मरण गराउँदै दाहालले एकपटक असफल भयो भन्दैमा एकताको प्रयास छोड्न नहुने टिप्पणी गरे । एमालेसँग २०७४ को निर्वाचनपछि एकता भएको विषय स्मरण गराउँदै प्रचण्डले भने,‘हामी दुई ठूला कम्युनिष्ट पार्टीबीच एकता भयो, सबैले रुचाएका थिए । तर, दुर्भाग्य हामीले त्यसलाई बचाउन सकेनौं । झण्डै दुई तिहाइको नजिक पार्टी पुग्दा पनि सरकारबाट सबैले प्रशंसा गर्ने भनौं वा इतिहासमा नाम रच्ने र पार्टीको एकतालाई बचाउन पनि सकेनौं । हामीले त्यसबाट शिक्षा लिनुको अर्को विकल्प छैन ।’