संविधानमा सुनिश्चित अधिकार महिलाले प्राप्त गरेनन्ः मन्त्री सुडी


काठमाडौँ, ५ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले संविधानमा सुनिश्चित भएका अधिकार महिलाले प्राप्त गर्न नसकेको बताएका छन् । उनले जनसङ्ख्याको ५१ प्रतिशत महिलाले ओगटेपनि अझै पनि हक र अधिकारबाट बञ्चित रहेको बताएका हुन् ।

महिला पुनःस्थापना केन्द्र (ओरेक) को ३४औँ वार्षिकोत्सवको अवसरमा आयोजित एक कार्यक्रममा उनले भने, “संविधानमा लेखिएका हक अधिकारहरु महिलाले पाएका छैनन् । २०७२ को संविधान बन्नुअघि र पछि महिलाको जागरुकता र पहुँचमा धेरै अन्तर आइसकेको छ । महिला सचेत र जागरुक भइसकेका छन् । महिला आफैँ आफ्ना हकका लागि लड्नुपर्छ ।”

ओरेकका संस्थापक अध्यक्ष रेणु अधिकारीले समाजमा गाडिएको विभेदको जरो अन्त्य नहुन्जेल ओरेकले घच्घच्याउने काम गरिराख्ने बताईन् । उनले भनिन्, “समाजमा विभेदको जरो नराम्ररी गाडिएको छ । समाजका विभिन्न पाटोसँग ओरेकले काम गरेको छ । हामी सङ्घसंस्थाहरु प्रतिस्पर्धी होइनौँ सरकारका सहयोगी हौँ ।”

राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले सयौँ वर्षदेखि बहिष्करणमा पारिएका र दबिएका आवाजका लागि ओरेकले काम गरेको र आयोग सहकार्य गर्न सधैँ तत्पर रहेको बताए । File Photo/RN