काठमाडौं, ६ वैशाख । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य सूर्यबहादुर थापा क्षेत्रीले शिक्षक महासंघको आह्वानमा भइरहेको शिक्षकहरुको काठमाडौं केन्द्रीत आन्दोलनमा दुर्गा प्रसाईँका कार्यकर्ताहरुको घुसपैठ भएको जस्तो देखिएको बताएका छन्् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आन्दोलनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई गालीगलौज गर्ने, प्रधानमन्त्री ओलीको शैक्षिक योग्यतामाथि प्रश्न उठाउने जस्ता कार्य शिक्षकहरुको पेशागत मर्यादाभित्र नपर्ने बताएका हुन् ।
‘शिक्षक आन्दोलनभित्र कतिपय दुर्गा प्रसाईँका कार्यकर्ताहरु ट्याउँट्याउँ गरेजस्तो पनि सुनिएको छ । प्रधानमन्त्रीलाई गालीगलौज गर्ने, सरकारलाई गाली गलौज गर्ने, हामी डिग्री पढेर सडकमा छौं, प्रधानमन्त्रीले कति पढ्नुभएको छ ? भनेर उत्ताउला, अशिष्ट र गालीगलौजयुक्त कुराहरु गर्ने काम पनि गरेका छन् । यो शिक्षक आन्दोलनको, शिक्षक महासंघको आह्वानको गरिमाविपरीत छ । मैले हिजो शिक्षक साथीहरुलाई भनेको छु । त्यस्ता व्यक्तिहरुलाई चाहीँ आन्दोलनमा घुसपैठ हुनबाट रोक्ने, पेशागत मर्यादाअनुसार यसलाई निष्कर्षमा पुर्याउने काम गर्नुपर्छ,’– उनले भने ।
साथै, शिक्षकहरुको आन्दोलन उत्कर्षमा पुगिसकेको र उनीहरुले जितेको मनस्थिति बोकेर कार्यक्षेत्रमा फर्किनु उपयुक्त हुने उनको सुझाव छ । आगमी बजेट अधिवेशनबाटै शिक्षा ऐन जारी हुने पनि उनले बताए ।




प्रतिक्रिया