गणतन्त्र पक्षधर शक्तिहरु एक ठाउँमा उभिनुपर्नेमा ओली, देउवा र दाहालबीच मतैक्यता


काठमाडौं, ६ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र पक्षधर शक्तिहरु एक ठाउँमा उभिनुपर्ने निष्कर्ष निकालेका छन् । आज (शनिबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा शीर्ष नेताहरु प्रमुख राजनीतिक दलहरुसहित गणतन्त्र पक्षधर शक्तिहरु एक ठाउँमा उभिनुपर्ने निष्कर्षमा पुगेका हुन् ।

प्रधानमन्त्री ओलीका सल्लाहकार अग्नि खरेलले बैठकको निर्णय सुनाउँदै भने,‘संविधानको उल्लङ्घन गर्ने र सामाजिक अराजकता सिर्जना गरी मुलुकको शान्ति र अमनचयन खलल पुर्याउनेहरुप्रति सचेत हुँदै अघि बढ्न प्रमुख राजनीतिक दलहरुसहित गणतन्त्र पक्षधर शक्तिहरु एक ठाउँमा उभिनुपर्ने समान मत देखिएको छ ।’

बैठकमा गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्री ओलीका सल्लाहकार खरेललगायतको पनि सहभागिता रहेको थियो । बैठकमा प्रधानमन्त्री ओलसहित तीन राजनीतिक दलका शीर्ष नेताहरुका बीच विद्यामान राजनीतिक व्यवस्था र संघीय लोकतान्त्रिक गणतन्त्रात्क नेपालको समावेशितासहितको संविधानको रक्षाको लागि उपयुक्त वातावरण बनाउँदै अगाडि बढ्ने विषयमा छलफल भएको उनले जानकारी गराए ।

साथै, उक्त छलफलमा संक्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगको पदाधिकारी चयनका लागि गठित सिफारिस समितिले गरिरहेको कामको बारेमा छलफल भएको उनले बताए ।