काठमाडौं, ७ वैशाख । नेकपा (एमाले) का नेता महेश बस्नेतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को काठमाडौंमा आज गरिएको प्रदर्शनप्रति कडा आलोचना गरेका छन्। उनले राप्रपाको आन्दोलनलाई ‘अराजक’ र ‘निरर्थक’ भन्दै जनतालाई भ्रममा पार्ने प्रयासको रूपमा व्याख्या गरेका छन्।
राप्रपाले सरकारको ‘निरङ्कुश नीति’को विरोधमा काठमाडौंको निषेधित क्षेत्र वरपर शान्तिपूर्ण प्रदर्शन गरेको थियो। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदर्शनलाई वैचारिक र लोकतान्त्रिक अधिकारको प्रयोगका रूपमा प्रस्तुत गर्दै भनेका थिए, “हामी स्पष्ट, वैचारिक र शान्तिपूर्ण आन्दोलन गर्छौं। सरकारले जनताको आवाज दबाउन हुँदैन।”
तर, महेश बस्नेतले सामाजिक सञ्जालमार्फत राप्रपाको आन्दोलनलाई ‘दुर्गा प्रसाईंको बाटो’ भन्दै आलोचना गरेका छन् । उनले भनेका छन्, “राजेन्द्र लिङ्देनको अराजक आन्दोलन र जगमान गुरुङको ‘जेठ १५ मा राजा ल्याउँछु’ भन्ने उद्घोष मनको लड्डु घ्यूसँग खानेजस्तै हो। यस्तो आन्दोलन न सफल हुन्छ, न जनताको समर्थन पाउँछ, न त ज्ञानेन्द्र राजा बन्छन्।”
बस्नेतले देशी विदेशी शक्ति केन्द्रहरूले नेपाली समाजलाई अराजक बनाउन खोजिरहेको उल्लेख गर्दै राप्रपाले त्यसमा मलजल गरिरहेको आरोप लगाए। साथै, उनले निषेधित क्षेत्र तोड्ने प्रयासलाई गैरजिम्मेवार कदम भन्दै भनेका छन्, “विश्वका हरेक देशले संवेदनशील स्थानमा निषेधाज्ञा लागू गर्छन्। त्यस्तो क्षेत्रमा प्रदर्शन गरेर भ्रम फैलाउनु अनुचित हो।”
यद्यपि राप्रपाले प्रदर्शनमा सीमित सहभागिता जनाएको जनाएको भए पनि, यो घटनाले राजनीतिक वृत्तमा नयाँ बहस जन्माएको छ। बस्नेतको तीव्र आलोचनाले राप्रपाको आन्दोलन र यसको प्रभावबारे थप प्रश्न खडा भएको देखिन्छ।
प्रतिक्रिया