घनश्याम भुसाललाई वाईसीएल अक्ष्यक्षको चुनौतीः माओवाद र नेपाली समाजबारे कुन मञ्चमा बहस गर्ने हो, हामी तयार छौं


काठमाडौं, ९ वैशाख । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं पार्टीको सहायक संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) का अध्यक्ष सुवोधराज सेर्पालीले नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भु्सालले माओवादीको बारेमा दिएको अभिव्यक्ति नितान्त पूर्वाग्रही रहेको बताएका छन् । आफूहरु विचार, सिद्धान्त र पार्टीप्रती सम्पूर्ण रूपले प्रष्ट रहेको बताउँदै उनले ‘माओवाद र नेपाली समाजबारे कुन मञ्चमा बहस गर्ने हो ? हामी तयार छौं’ भन्दै महासचिव भुसाललाई चुनौती दिएका छन् ।

उनले जनयुद्धका क्रममा आफूहरुले रिस र आवेगमा नभएर सुस्पष्ट विचारका आधारमा बन्दुक बोकेको पनि बताएका छन् । सामन्तवाद र प्रतिक्रियावादीहरू विरुद्ध जीवनमरणको युद्धमा खुसीसाथ हाम फालेको र गणतन्त्र निर्माण गर्न असाधारण बलिदानको कीर्तिमान कायम गरेको पनि उनले स्मरण गराएका छन् ।

‘तपाइँ के सोचेर बोल्नु भयो ? के ठानेर माओवाद के हो यिनीहरूलाइ थाहा छैन भनेर रोइलो गर्नुभयो ? सबै कुरा थाहा भएर । मर्न तयार भएको क्रान्तिकारी सिपाही हौं हामी । देशका ८० प्रतिशत ग्रामीण भू–भागमा जनसरकार सञ्चालन गरेर पुरानो सत्तालाइ गलाएको विचारको अभियात्री माओवादीका हरेक नेता कार्यकर्ता हुन् । तपाईंका अभिव्यक्ति पूर्णरूपमा निन्दा गर्दछु । आउनुहोस् माओवाद र आजको नेपाली समाजबारे कुन मञ्चमा बहस गर्ने हो ? हामी तयार छौँ,’– अध्यक्ष सेर्पालीले भनेका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा भुसालले माओवादीलाई माओवाद के हो ? विचार के हो ? केही पनि जानकारी नरहेको र गणतन्त्र आफूले ल्याएको र यसको भोग पनि आफूले मात्रै गर्न पाउनुपर्ने तर्क गरेर हिँडिरहेको टिप्पणी गरेका थिए । ‘माओवाद भनेर नाम राखेको छ । के हो माओवाद ? व्याख्या पनि गर्न सक्दैन । किन राखेको हो थाहा छैन । लुकिङ लण्डन, टकिङ टोकियो । माओवाद भनेको यता हेरेर उता कुरा गर्ने । सिद्धान्त कता हो थाहा छैन । के सन्दर्भमा छ ? माओवादबाट हेर्दा समाज, भूराजनीति के कता देखिन्छ ? अर्कै देखिन्छ । त्यस्तो सिद्धान्त लिएर हिँडेको छ,’– माओवादीबारे टिप्पणी गर्दै भुसालले भनेका थिए ।

अध्यक्ष सेर्पालीले वैचारिक छवि बनाएको नेताबाट यस्तो अभिव्यक्ति आउनु स्वभनीय नरहेको बताएका छन् । माओवादी र समाजवादी समाजवादको बाटो र समाजवादी कार्यदिशाको एउटै बाटोमा अगाडि हिँडिरहेको अवस्थामा एकआपसमा बेमेल सिर्जना हुने अभिव्यक्ति आउनु राम्रो नहुने उनले बताएका छन् ।