पार्टीका प्रत्येक कमिटीमा ३३ प्रतिशत युवा सहभागिता गराइने महासचिव पोखरेलको प्रतिवद्धता


काठमाडौँ, १० वैशाख । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टीका प्रत्येक कमिटीमा ३३ प्रतिशत युवा सहभागिता गराइने बताएका छन् । अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) केन्द्रीय युवा कमिटीको दोस्रो राष्ट्रिय युवा महिला भेलाको उद्घाटन गर्दै भने, ‘पार्टीका हरेक कमिटीमा युवाहरू ३३ प्रतिशत पुर्याउने गरी पार्टीले काम गरिरहेको छ । तीनपुस्ताको संयोजन गरेर पार्टीलाई अगाडि बढाउनुपर्छ भनेर हामी लागिरहेका छौँ ।’

महासचिव पोखरेलले अहिले पार्टीमा युवाको राम्रो उपस्थिति रहेको पनि उल्लेख गरे । उनले पार्टीका हरेक गतिविधिमा युवालाई प्रतिपस्र्धी बनाएर अब्बल बनाउने र महिला सशक्तीकरण तथा सहभागिता वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरे ।

अनेमसङ्घले युवा महिला सशक्तीकरण र सहभागिता वृद्धि गर्ने उद्देश्यले आज राष्ट्रिय युवा महिला भेला आयोजना गरेको हो । ‘समुद्ध नेपालः सुखी नेपाली’ को सङ्कल्प पूरा गर्दै समान सहभागिताका लागि सुदृढ सङ्गठन बनाउने सोचका साथ भेला आयोजना गरेको अनेम सङ्घकी अध्यक्ष टुकाभद्र हमालले जानकारी दिईन् ।