काठमाडौं, ११ वैशाख । आज २०औं लोकतन्त्र दिवस । रिपोर्टर्स क्लब नेपालले लोकतन्त्र दिवसको अवसर पारेर ‘भारतविरुद्ध पाकिस्तानको आतङ्ककारी हमला र लोकतन्त्र दिवस’ विषयक अन्तरक्रिया गरेको छ । अन्तरक्रिया कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रवक्ता मनिष सुमन, नेकपा (माओवादी केन्द्र) का नेता एवं सांसद लेखनाथ दाहाल र नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री कर्ण थापा, नेपाली कांग्रेसका प्रभावशाली नेता तथा केन्द्रीय सदस्य नैनसिंह महर सहभागी थिए ।
क्लबका सभापति ऋषि धमलाले लोकतन्त्रको विकल्प अर्को कुनै तन्त्र नरहेको र अब दल र नेताहरु सच्चिएर जिम्मेवार हुन आवश्यक हरको बताए । उनले लोकतन्त्रमाथि हमला भएकोमा आफूलाई सह्य नहुने बताए । ‘लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो । तर, नेताहरु र दलहरु सुध्रिनुपर्यो, जनताको लागि काम गर्नुपर्यो । जवाफदेही हुनपर्यो । जनता सन्तुष्ट छैनन्, आक्रोशित छन्,’– उनले भने । त्यस्तै, भारतको काश्मिरमा भएको आतङ्ककारी हमला कुनै पनि नेपालीको लागि सह्य नरहेको र आतङ्ककारीहरुलाई मानव जातिले प्रश्रय दिन नहुने बताए ।

जसपा नेपालका प्रवक्ता सुमनले सबैभन्दा ठूलो स्वतन्त्रता वाक् स्वतन्त्रता रहेको र राजावादीहरुले समेत लोकतन्त्रमा आफ्नो कुरा राख्न पाइरहेको बताए । विगतमा लोकतन्त्रको लागि लड्दा आफूहरु पटक–पटक जेल बस्नुपरेको स्मरण गराउँदै उनले भने, ‘सबैभन्दा ठूलो स्वतन्त्रता भनेको वाक् स्वतन्त्रता हो । हामी सबैले आफ्नो मनको कुरा निर्धक्क तरिकाले राख्न पाइराखेका छौं । यो लोकतन्त्र ल्याउनमा सहादत दिएका सहिदहरुप्रति उच्च सम्मान प्रकट गर्न चाहन्छु र घाइतहरु प्रति पनि उच्च सम्मान प्रकट गर्न चाहन्छु,’– उनले भने ।
लोकतन्त्रका लागि आफूले समेत धेरै पटक जेल बस्नुपरेको, कन्चटबाटै गोली जाँदा भाग्यले बाँचेको लगायतको बताउँदै उनले यो व्यवस्थामाथि औंला उठाउने कसैलाई छुट नरहेको उनले बताए । तर, केन्द्रले संघीय सरकारलाई अधिकार दिन कन्जुस्याइँ गरेको उनले बताए । लोकतान्त्रिक व्यवस्थामा आएर भएका कमिकमजोरी जसपा नेपालको खातामा पर्ने जतिको जिम्मेवारी लिन आफूहरु तयार रहेको पनि उनले बताए ।
साथै, काश्मिरमा २६ जनाको ज्यान जानेगरी भएको आतङ्कारी हमलाको जनि भर्त्सना गरे पनि कमै हुने उनले बताए । भारतले ती आतङ्कारीहरुलाई पत्ता लगाएर भविष्यमा त्यस्ता घटना घटाउने कसैले आँट गर्न नसक्नेगरी अकल्पनीय दण्ड दिनुपर्ने उनको माग छ ।
‘केही आतङ्ककारीहरुले धार्मिक आस्थाकै कारण २६ जनाभन्दा बढीको हत्या गरेका छन् । जम्मुकाश्मिमा भएको यो घटनाको जति भर्त्सना गरे पनि कमै हुन्छ । त्यस्ता घटना घटाउने आतङ्ककारीहरुलाई पत्ता लगाउनुस्, फेरि कसैले त्यस्ता घटना घटाउने आँट नगर्नेगरी अकल्पनीय दण्डित गर्नुस् भन्ने हामी आग्रह गर्न चाहन्छौं,’– उनले भने ।

नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य लेखनाथ दाहालले लोकतन्त्रमा जनता अधिकारसम्पन्न भएको बताए । विभेदमा पारिएको सबै जात, वर्ग, लिङ्ग सबै जनता अधिकारसम्पन्न भइसकेको उनले बताए । तर, जनतालाई अधिकारसम्पन्न बनाएसँगै उनीहरुलाई त्यही ऐन, कानुनको जगमा टेकेर जनतालाई सुविधासम्पन्न बनाउन नसकिएको र जनताको आकांक्षा भने पूरा नभएको उनले बताए । उनले अझैं पनि विभेद र विकृति कायम रहेको र शासकीय सुधार आवश्यक रहेको बताए । व्यक्तिमार्फत शासन गर्ने प्रवृत्ति अझै पनि कायमै रहेको उनले बताए । ‘व्यवस्थामा समस्या छैन, संविधानमा समस्या छैन, तर संविधानको सफल कार्यान्वयनको लागि चाहिने ऐन, कानुनहरु अहिले पनि निर्माण भएका छैनन्,’– उनले भने ।
साथै, उनले जम्मुकाश्मिको समस्या सम्बन्धित देशको आन्तरिक समस्याको रुपमा बुझ्नुपर्ने उनले बताए । नेपाली नागरिक सुधीर न्यौपानेलगायत २६ जनाको हत्या भएको विषयमा अपराधी जो भए पनि दण्डित गरिनुपर्ने उनले बताए । अपराधीहरुको कुनै देश र राष्ट्र नहुने उनको धारणा छ । उक्त घटनालाई लिएर भारतलाई आफूहरुको तर्फबाट निर्वाह गर्नुपर्ने भूमिका निरन्तर रहिरहने पनि उनले बताए ।

नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री कर्ण थापाले नेपालमा निकै ठूलो संघर्ष, बलिदानी र त्यागपछि लोकतन्त्रको स्थापना भएको बताए । आज नेपाली जनता विजयी भएको दिन रहेको उनले बताए । तर, नेपालका दलहरुले लोकतन्त्रको विश्वव्यापी मान्यताहरुको जति भाषण गरे पनि त्यसअनुसारको आचरण व्यवहारमा देखाउन नसकेको उनले बताए । ‘दलहरुको बीचमा स्वस्थ्छ प्रतिस्पर्धाको स्थिति बनेन । लोकतन्त्रको मञ्चमा आएर हामीले विधिको शासनको, संविधानको सर्वोच्चताको, मानवअधिकारको, लोकतन्त्रको विश्वव्यापी मान्यताको जति भाषण गर्यौं, त्यसअनुरुपको व्यवहार चाहीँ हामीले गरेनौं,’– उनले भने ।
त्यस्तै, काश्मिरमा भएको आतङ्ककारी घटनाको आफू र आफ्नो पार्टी एमालेले घोर भर्त्सना गरिरहेको उनले बताए । संसारको कुनै पनि कुनामा हुने आतङ्ककारी घटनाको भर्त्सना गरिनुपर्ने उनले बताए । उक्त घटनामा नेपाली नागरिकको हत्या भएको भन्दै उनले निजको परिवारलाई राहत दिएर मलह्मपट्टी लगाउने कोशिस गर्नुपर्ने उनले बताए ।

नेपाली कांग्रेसका प्रभावशाली नेता तथा केन्द्रीय सदस्य नैनसिंह महरले लोकतन्त्र स्थापनाको लागि नेताहरुले जनतासामू गरेको वाचामा एकाकार नभएको बताएका छन् । लोकतान्त्रिक आन्दोलनले देशमा थुप्रै परिवर्तन ल्याएको उनको दाबी छ । नेपाललाई अझै उन्नतीको लागि मार्गमा लैजानको लागि राजनीतिक दलहरुको ध्यान जानुपर्ने जनताको सुझाव रहेको सुनाउँदै त्यसमा आफूहरु लागिपरेको उनको भनाई छ ।
महरले सरकार परिवर्तनसँगै संविधान संशोधनको कुरा उठाएपनि त्यतातर्फ जान नसकेको स्विकारे । उनले कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमतिमा पूर्ण प्रतिबद्ध भएर लाग्नुपर्ने सुनाए । संविधान संशोधन गरेरमात्रै धेरै कुरा हुन्छजस्तो आफूलाई नलागेको सुनाए । उनले आजसम् मबनेका सरकार र ढलेका सरकार बहुमत नभएर नढलेको भन्दै पार्टीभित्रका असन्तुष्टि र तत्कालिन अवस्थामा समाजमा व्याप्त असन्तुष्टिलाई हल गर्न नसकेर ढलेको स्मरण गराए ।
प्रतिक्रिया