नयाँ सरकारका लागि कांग्रेससँग संवाद सुरु भएको माओवादी नेता दाहालको खुलासा, देउवा फर्किनेबित्तिकै थप छलफल हुने (भिडिओसहित)


काठमाडौं, ११ वैशाख । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य लेखनाथ दाहालले वर्तमान सरकारको विरुद्धमा नेपाली कांग्रेससँग संवाद सुरु भएको स्वीकार गरेका छन् । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली र उनको दल एमालेभन्दा सापेक्षित रुपमा कांग्रेस प्रगतिशील भएकाले उसैसँग नयाँ सरकार बनाउन संवाद भइरहेको बताएका हुन् ।

‘केपी ओलीभन्दा, एमालेभन्दा कांग्रेस सापेक्षित हिसाबले प्रगतिशील छ । हिजो पनि संसद् दुई÷दुई पटक विघटन गर्दा केपी ओलीको स्वैच्छाचारी, अलोकतान्त्रिक र निरङ्कुश कदमको विरुद्ध कांग्रेससँग हाम्रो सहकार्य भएकै हो । खराबमध्ये कम खराबलाई राज्नुपर्दा हामीले कांग्रेससँग सहकार्य गर्नुपर्छ । संवाद सुरु भएको कुरा सत्य हो,’– उनले भने ।

कांग्रेस–एमालेभित्र चुलिएको अन्तरविरोधकै कारण ओली नेतृत्वको सरकार धेरै दिनसम्म नटिक्ने उनले बताए । कांग्रेस सभापति शेरबहादुर देउवा थाइल्याण्डबाट फर्किनेबित्तिकै नयाँ सरकारको बारेमा र सरकारमा माओवादीको भूमिकाबारेमा छलफल हुने बताए । ‘उहाँहरुभित्र चुलिएको अन्तरविरोधले सरकार ढल्छ । सरकार ढलिसकेपछि माओवादीको उपस्थिति के हुन्छ भन्ने कुरामा शेरबहादुर देउवा आइसकेपछि बहस सुरु हुन्छ । यो मुलुकले यो बोझिलो सरकार धान्न सक्दैन । यसले लोकतन्त्रको रक्षा पनि गर्दैन,’– उनले भने ।

कुलमान घिसिङ र ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङको बर्खास्तगी प्रकरण र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीबाट विद्या भट्टराईको राजीनामासम्म आइपुग्दा वर्तमान सरकार समावेशी, समानुपातिक व्यवस्थाप्रति उदाशिन रहेको प्रष्ट हुने उनले बताए । उनले वर्तमान सरकार जनमैत्री र जनउत्तरदायी नरहेको दाबी गरे । ‘सरकार जनउत्तरदायी छैन, विचौलियामैत्री छ, जनमैत्री छैन । जनमैत्री सरकार बन्नुपर्छ भन्ने विषयमा हामी प्रष्ट छौं । जनमैत्री सरकार बन्नुपर्छ भन्ने विषय भन्दै गर्दा केपी ओली नेतृत्वको सरकार छ । केपी ओली नेतृत्वको सरकार पछिल्लो समय विभेद र विकृतिको नेतृत्व गर्दै आएको छ,’– उनले भने ।