काठमाडौं, ११ वैशाख । नेकपा (माअोवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य सुदन किरातीले सत्तारुढ दल नेकपा (एमाले) र उक्त दलका नेता तथा सांसदहरुले नै शिक्षा ऐन ल्याउन नचाहेको बताएका छन् । अधिकांश एमालेका नेताहरुको निजी विद्यालयमा लगानी रहेको दाबी नेता किरातीको छ ।
‘एमालेका अधिकांश नेताहरुको लगानी शिक्षामा छ । यो शिक्षकसँगको मात्रै सवाल होईन, शिक्षा नीतिसँगको पनि सवाल हो । त्यसकारणले शिक्षा विधेयक आजको शिक्षा विधेयक बनाउने हो भने सरकारी शिक्षाको गुणस्तर वृद्धि गर्ने, आजको गणतन्त्रको पाठ्यक्रम बनाउने आदि गर्नुपर्छ । त्यो बेला एमालेका धेरै मान्छेको सम्पत्ति सार्वजनिक हुनेछ । त्यसैले एमालेले अग्रगामी शिक्षा ऐन चाहनेवाला छैन,’– रिपोर्टर्स नेपालसँग संक्षिप्त कुराकानी गर्दै उनले भने ।
त्यस्तै, सरकारले विद्यालय शिक्षा ऐन ल्याउँछु भन्ने विद्या भट्टराईलाई राजीनामा दिन बाध्य बनाएको र शिक्षकको आन्दोलनप्रति आसाध्यै नकारात्मक टिप्पणी गर्ने व्यक्तिलाई शिक्षामन्त्रीमा नियुक्त गरेकोबाट पनि वर्तमान सरकार शिक्षा ऐन ल्याउने पक्षमा छैन भन्ने पुष्टि हुने उनले बताए । यस्तो अवस्थामा माओवादी केन्द्रसहित प्रतिपक्षी दलहरुले शिक्षकहरुसँग वार्ता गरी उनीहरुलाई विश्वास दिलाउनुपर्ने नेता किरातीले बताए । ‘शिक्षा विधेयकमा सरकारले चासो नगरेपछि शिक्षकहरुसँग कबोल गरेर, अब प्रतिपक्षले नै वार्ता गरेर शिक्षकको समस्या समाधान गर्नुपर्ने देखिन्छ,’– उनले भने । File Photo/RN
प्रतिक्रिया